खोटाङ । खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पु¥याएको योगदानको कदर गर्दै ‘शहीद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो ।
शहीद मनोज जोशीको ३१ औं स्मृति दिवसको अवशरमा आइतबार दिक्तेलको अस्पतालचोकस्थित समाधिस्थलमा आयोजित माल्यार्पण एबं श्रद्धाञ्जलीसभा कार्यक्रममा पत्रकारिता क्षेत्रमा भिष्म पितामह भनेर चिनिने पत्रकार आचार्यलाई १० हजार राशीको पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले पत्रकार आचार्यको अनुपस्थितिमा छोरा ओजनबाबु आचार्यलाई नगद पुरस्कार र सम्मान–पत्र हस्तान्तरण गरेका छन् ।
२०३२ सालदेखि झापाको विवेचना अर्धसाप्ताहिकबाट पत्रकारिता सुरु गरेका आचार्य हाल खोटाङखबर साप्ताहिकका प्रधान सम्पादकका रुपमा कार्यरत छन् । सक्रिय पत्रकारितामा ४७ वर्ष विताइसकेका पत्रकार आचार्यलाई २०७४ सालमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस स्वतन्त्रता सेनानीको सम्मान दिएको थियो ।
उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा २०१२ साल साउन २ गते जन्मिएका हुन् । शहीद मनोजमार्ग सरसफाई, रक्तदान, अस्पतालका बिरामीलाई फलफुल वितरण लगायतका कार्यक्रम गर्दै जिल्लामा शहीद मनोज जोशी–झपेन्द्र कार्की स्मृति दिवस मनाइएको छ ।
बुधबार १५ साउन २०४८ मा नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका मनोज जोशीको प्रहरीको गोली लागेर ज्यान गएको थियो । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।
बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् । दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत जोशीको हत्या भएको घटनालाई जिल्लामा शहीद ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । लामो समयदेखिको मागका वावजुद जोशीलाई सरकारले २२ माघ २०७४ मा शहीद घोषणा गरेको थियो ।
त्योबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यवहार गरेका थिए । सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै सो आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए ।
सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाउँदै आएको छ । दिक्तेलका बुवा नारायणप्रसाद जोशी र आमा अम्बीका जोशीको कान्छो छोराकारुपमा जोशीको २३ असोज २०३० मा जन्म भएको थियो । वास्तबिक नाम ‘सर्मेन्द्र’ भए पनि मनोजका नामले परिचित जोशी इन्द्रणी साँस्कृतिक समाज तथा एक युवा संगठनमा आवद्ध थिए । यसबाहेक जोशी जिल्लाका एक कुशल खेलाडीकारुपमा परिचित थिए ।
जोशीलाई शहीद घोषणा गर्ने माग पुरा भए पनि दोषीमाथि अझै कारबाही हुन बाँकी रहेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष आचार्यले बताए ।