विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेकपा एमाले नेतृत्वको संघीय सरकार र प्रदेश सरकारले प्रदेशको नाम राख्न नसकेको तर त्यसको दोष आफूलाई दिने गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ को नामाकरण टुंगो लगाउन नसकेर प्रदेशलाई नै जिम्मा लगाएको भन्दै उनले अहिले आफ्नो काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत भएको उनले बताएका छन् ।
‘आफूले नसकेर तल पठाउने अनि अहिले पछि बसेर अर्काको काँधमा बन्दुक राखेर पड्काउन खोज्ने, यस्तो कुरा पनि गर्ने ?’ उनले भने, ‘तपाईंहरुलाई चाहिएको भए त्यही बेला घोषणा गर्दा हुँदैन थियो ।’ यसअघिका सरकारले पहिचानका आधारमा प्रदेशको नामाकरण गर्ने कुरा पहिल्यै उठिसकेको भन्दै आलोचना खेप्न नसकेर अरुलाई जिम्मा लगाएको दाबी उनले गरे ।