खोटाङ । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आव्हान गरेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगको कार्यतालिका अनुसार जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक तथा दाबी–विरोधका लागि आव्हान गरेको हो ।
आगामी १२ भदौदेखि १९ भदौसम्म मतदाता नामावली अद्यावधिक (दावी बिरोध समेत) सम्वन्धी कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि भदौ १२ गते मतदाता नामावली प्रकाशन गर्ने, भदौ १३ गतेदेखि भदौ १५ गतेसम्म मतदाता नामावलीमा रहेको त्रुटी सच्याउन सम्वन्धित प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिन सकिने, भदौ १३ गतेदेखि भदौ १५ गतेसम्म कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिन सकिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
यस्तै, भदौ १३ गतेदेखि भदौ १६ गतेसम्म मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन सूचना दिने, भदौ १३ गतेदेखि भदौ १६ गतेसम्म बसाइ सरी अन्यत्र गएका वा मृत्यु भएका, नागरिकता त्याग गरेका वा नागरिकता रद्ध भएका मतदाताको विवरण स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्ने, भदौ १३ गतेदेखि भदौ १७ गतेसम्म उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने लगायतका कार्यतालिका सार्वजनिक गरिएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि ३१ भदौमा अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ ।