स्वर्गीय घ्युकुमारी श्रेष्ठको परिवारलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई ।
खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले त्रिभुवन माविका उत्कृष्ट एक विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका छन् ।
ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दामालीटोलका स्वर्गीय घ्युकुमारी श्रेष्ठको स्मृतिमा त्रिभुवन माविको प्रांगणमा निर्माण गरिएको सरस्वती मन्दिर उद्घाटनका क्रममा गाउँपालिका अध्यक्ष राईले उत्कृष्ट एक विद्यार्थीलाई नगद पुरस्कार दिने घोषणा गरेका हुन् ।
गाउँपालिका अध्यक्ष राईले गाउँपालिका अध्यक्षको भूमिकामा रहेसम्म त्रिभुवन माविका उत्कृष्ट एकजना विद्यार्थीलाई १५ हजार नगद पुरस्कार दिने घोषणा गरेका छन् । जेहेन्दार विद्यार्थीलाई पढाईप्रति थप प्रोत्साहित गर्नका लागि नगद पुरस्कार दिने घोषणा गरेको गाउँपालिका अध्यक्ष राईले बताए । ‘विद्यार्थीको प्रोत्साहनका लागि विद्यालयका एक जना उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार दिनेछु,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘गाउँपालिकाको अध्यक्ष रहेसम्म नगद पुरस्कार दिनेछु ।’
स्वर्गीय श्रेष्ठको स्मृतिमा उनका परिवारले त्रिभुवन माविको प्रांगणमा सरस्वती मन्दिर निर्माण गरिदिएका हुन् । ७ लाख २८ हजार ७५० रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिर श्रेष्ठ परिवारले उद्घाटन सँगै विद्यालयलाई हस्तान्तरण गरेका छन् ।