खोटाङ । मुन्दुम अध्येता एवं मुन्दुमका भौतिकवादी व्याख्याता भोगीराज चाम्लिङलाई किरात एकेडेमी सम्मान प्रदान गरिएको छ । नेपालको प्राचीन ज्ञानको श्रोत मुन्दुमको खोज अनुसन्धान र वैज्ञानिक तथ्यसहित भौतिकवादी व्याख्या गर्नुका साथै नेपाली संस्थापित विचारको परम्परागत इतिहासलाई पुनर्लेखन र पुनव्याख्या गरेर इतिहासको नयाँ आँखीझ्याल खोल्ने कामको सुरुवात गरेकामा चाम्लिङलाई किरात एकेडेमीले सम्मान गरेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठ्माडौंमा शुक्रबार आयोजित किरात एकेडेमी सम्मान तथा पुरस्कार अर्पण समारोहमा प्रमुख अतिथि प्राध्यपक डा. अभि सुवेदीले चाम्लिङलाई दोसल्ला ओढाएर सम्मान प्रदान गरेका छन् ।
यस्तै, लेखकद्वय विप्लव ढकाल र राजकुमार दिक्पाललाई किरात एकेडेमी पुरस्कार प्रदान गरिएको छ । किरात एकेडेमीले स्थापना गरेको पुरस्कार ढकालको ‘भोजपुरको वाङमय’ र दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ लाई प्रदान प्रदान गरिएको हो । पुरस्कारको राशी ५० हजार रहेको छ । यस अघि पुरस्कार प्रथम पटक युग पाठकको उर्गेनको घोडा र दोश्रो पटक झलक सुवेदीको ब्रिटिस साम्राज्यको नेपाली मोहोराले किरात एकेडेमी पुरस्कार पाएको थियो ।
किरात एकेडेमी कोषले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री माओवादी केन्द्रका नेता राम कार्की, प्रतिनिधिसभा सदस्य सुरेशकुमार राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम होलेसुङ समुह, नेपालका लागि जनकराज राईले प्रयोजन गरेका थिए ।