साकेला/खोटाङको साकेला गाउँपालिकाले भुक्तानी शिविर मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै गाउँपालिका र नेपाल एसबिआई बैंकको संयुक्त आयोजनामा भुक्तानी शिविर सुरु गरेको हो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रकम बैंककै उपस्थितीमा प्रत्येक वडामा पुगि वितरण सुरु गरिएको हो । शिविरको पहिलो दिन मंगलबार वडा नम्बर ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरमा ९० जना वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्तिहरुले करीव १३ लाख रुपैया सामाजिक सुरक्षा भत्ता रकम बुझेका थिए ।
आफ्नै घरगाउँमा बैंकको सेवा पुगेपछि लाभग्राहीहरु हर्षित बनेका छन् । साकेला गाउँपालिकामा पहिलो त्रैमासिकका लागि एक करोड २३ लाख रुपैया सामाजिक सुरक्षा भत्ता रकम निकासा भएको छ । साकेलामा एक हजार चार सय सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही रहेका छन् ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई सहजता प्रदान गर्नका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । अशक्त अवस्था र अपाङ्गता भएका व्यक्तिहरुको सेवाका लागि गाउँपालिकाले घरदैलो अभियान सञ्चालन गरी सुविधा प्रदान गरिने गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताए।
गाउँपालिका अध्यक्ष राईले भने हामी जेष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक, अपाङ्गता भएका नागरिकहरुको सम्मानका लागि घरदैलो अभियान मार्फत सेवा पुर्याउँनेछौं । गाउँपालिकाले हाल सञ्चालन गरेको भुक्तानी शिविर असोज १२ गते सम्म सञ्चालन हुनेछ ।
शिविरमा नेपाल एसबिआई बैंङ्कका शाखा प्रबन्धक असिम इङ्नाम आफै खटिएर भत्ता वितरण गरिरहेका छन् भने गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखाका कर्मचारीहरुको सहभागिता रहेको छ ।