खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शैक्षिक सुधारका लागि नगरभित्रका प्रधानाध्यापक र विव्यास अध्यक्षसंग ३२ बुद्दे प्रतिवद्धता गराएको छ । चार दिने अभिमुखीकरण कार्यक्रम पश्चात मावि, निमावि, आविका प्रअहरुबाट १७ प्रकारका र विव्यास अध्यक्षहरुबाट १५ किसिमका शिक्षा सुधारका काम गर्ने नगरसँग प्रतिबद्धता भएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रअ र व्यवस्थापन समितिका अध्यक्षका लागि असोज २९ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन गरेको विद्यालय शिक्षा सुधार सम्वन्धी अभिमुखीकरण कार्यक्रम समापनको अवसरमा मंगलबार शैक्षिक सुधार गर्ने प्रतिवद्धता जनाइएको हो ।
नगरप्रमुख भट्टराई, प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेल र सामाजिक विकास समितिका अध्यक्ष दानबहादुर राईको समेत हस्ताक्षर रहेको प्रतिवद्धता पत्रमा सामुदायिक विद्यालयका प्रअले वार्षिक कार्ययोजना र शैक्षणिक योजनाको निर्माण/कार्यान्वयन गर्ने, नगरको शिक्षा नियमावली २०७६ को नियम ५४ मा तोकिएका प्रअका काम, कर्तव्य र अधिकारको कार्यान्वयनमा सक्रियतापूर्वक लाग्ने, ठिक १० बजेदेखि ४ बजेसम्म दैनिक विद्यालय सञ्चालन र तोकिएको समयसीमाभित्र नियमित पठनपाठन, शिक्षकको अनुपस्थिति भएको समय र शिक्षकको अभाव भएका विद्यालयमा कक्षाका क्षमतावान विद्यार्थीलाई बैकल्पिक शिक्षकका रुपमा शिक्षणको अवसर दिने प्रतिबद्धता गरेका छन् ।

यस्तै, अनुपस्थित विद्यार्थीका अभिभावकसँग कक्षा शिक्षकबाट सम्पर्क र विद्यालय समुदाय सम्बन्ध सुधार, विद्याल परिसरको नियमित सरसफाई र पुष्प बाटिका निर्माण, जरुरी काम बाहेक विद्यालयमा शिक्षकको नियमित उपस्थितिमा सुनिश्चितता, विद्यालय स्थापनाका दिन अभिभावकहरुको सहभागितामा छात्रवृत्ति वितरण, परीक्षाको नतिजा विश्लेषण गरी सोको निचोड अभिभावक समक्ष पेश लगायतका १७ बुंदे प्रतिबद्धता भएको छ ।
यसैबीच, विव्यास अध्यक्षसँग नगरको शिक्षा नियमावलीको नियम २८ मा उल्लेख भएका काम, कर्तव्य र अधिकारको कार्यान्वयन गर्ने, बालबालिकाहरु विद्यालय आउनेजाने बाटो मर्मत गर्ने, शौचालयको मर्मतसम्भार र सरसफाई गर्ने, शुद्ध पिउने पानीको प्रवन्ध गर्ने, भौतिक पूर्वाधारको मर्मतसम्भार, शिक्षक र विद्यार्थीको उपस्थितिका लागि सहजीकरण, विद्यालयमा नियमित पठनपाठनको सुनिश्चितता गर्ने प्रतिबद्धता गरिएको छ ।
विव्यास पदाधिकारी आलोपालो गरी विद्यालयमा नियमित उपस्थित हुने, फूलबारी र करेसाबारी निर्माणमा सहजीकरण गर्ने, विद्यालय परिसर र कक्षाकोठाको सरसफाई, विद्यार्थी, शिक्षक र अभिभावक प्रोत्साहन कार्यक्रम, स्थानीय स्तरमा श्रोतको पहिचान, संकलन र उपयोगमा बृद्धि गर्ने प्रतिबद्धता भएको नगरप्रमुख भट्टराईले बताए । नगरपालिका र प्रअ तथा विव्यास अध्यक्षसँग भएको प्रतिबद्धता पूरा गर्नमा कुनै कसर नराख्न नगरप्रमुख भट्टराईले सम्बद्ध पक्षहरुलाई निर्देशन दिएका छन् ।

नगरपालिका र प्रअ तथा विव्यास अध्यक्षसँगको प्रतिबद्धता सार्वजनिक कार्यक्रममा नगरप्रमुख भट्टराई, उपप्रमुख विसन राई, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, जालपाका वडाध्यक्ष तथा सामाजिक विकास समिति अध्यक्ष राई, दिक्तेलका वडाध्यक्ष नवराज राई, नगरका प्रवक्ता तथा लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति थियो ।
यस्तै प्रतिवद्धता गराउनु अघि शैक्षिक गुणस्तर अभिबृद्धिका लागि नगरपालिकाले चारदिने विद्यालय शिक्षा सुधार सम्वन्धी अभिमुखीकरण गरेको छ । सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर अभिबृद्धिका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चार दिने शिक्षा सुधार सम्वन्धी अभिमुखीकरण गरेको हो ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई विद्यालय शिक्षा क्षेत्रमा लामो अनुभव लिएका शिक्षा सुधार अभियन्ता डा.तोयानाथ खनाल र माधवप्रसाद अधिकारी (ए) तथा शैक्षिक उत्प्रेरक माधवप्रसाद अधिकारी (बि) ले विद्यालय शिक्षा सुधारका विषयमा र पिउने पानी अभियान्ता गोकुल दंगालले सहजीकरण गरेका थिए ।
पहिलो दिन २१ वटा मावि, १४ वटा निमाविका प्रअ र १५ वडाकै वडाध्यक्ष, दोश्रो दिन आधारभूत विद्यालय (१–५) का ५८ वटा प्राविका प्रअ, तेश्रो दिन मावि र निमाविका ३५ जना विव्यास अध्यक्ष र चौथो दिन आधारभुत विद्यालय (१–५) का ५८ जना विव्यास अध्यक्षसँग अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।