खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फर्जी विद्यार्थी संख्या देखाएर सुविधा लिने विद्यालयलाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ। फर्जी विद्यार्थी संख्या देखाएर सुविधा लिने हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित जलन्धारा आधारभूत विद्यालयलाई स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।
४ कार्तिकमा नगरप्रमुख बिमला राई, उपप्रमुख रमेशकुमार राउत, शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीको टोलीले उक्त विद्यालयमा अनुगमन गर्दा विद्यालयको एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणाली (आईईएमआईएस) मा भरेको विद्यार्थी संख्या र विद्यालय अनुगमनको क्रममा पाईएको विद्यार्थी संख्या फरक भएपछि नगरपालिकाले प्रधानाध्यापक सीता कार्कीलाई तीन दिने स्पष्टीकरण सोधेको छ।
प्रअ कार्कीलाई के कति कारणले हालको र एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणालीमा फरक भएको तथ्याङकमा फरक हुन गएको, आयव्ययको वास्तविक तथ्याङकको अभिलेख विद्यालयमा नराखिएको र विद्यार्थी अनुपस्थितिमा के कति कारण हाजिरीखातामा हाजिरी जनाईएको हो भनेर स्पष्टीकरण सोधिएको शिक्षा शाखा संयोजक कार्कीले बताए। विद्यालयले नयाँ शैक्षिक सत्रयता फर्जी विधार्थी संख्या देखाउँदै आएको छ।
एकीकृत शैक्षिक सूचना तथा व्यवस्थापन प्रणालीमा २४ जना विद्यार्थी संख्या देखाए पनि विद्यालयमा भने ७ जना मात्रै विधार्थी रहेको पाईएको छ। वास्तविक ७ जना विद्यार्थी भएकोमा सिष्टममा २४ जना देखाएर विव्यास र प्रअले मिलेर खाने योजना बनाएको पाईयो ।
शिक्षा शाखा संयोजक कार्कीले भने, ‘यसरी फर्जी विद्यार्थी संख्या देखाएर दिवा खाजा, पाठ्यपुस्तक, छात्रवृत्ति र पिसीएफ रकममा अनियमितता गर्न खोजेको पाईयो।’ फर्जी विद्यार्थीसंख्याको वारेमा बुझ्न प्रअ कार्कीलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्क हुन सकेन। विद्यालयले सरासर फर्जी विद्यार्थी संख्या देखाउने काम गरेको पाईएको नगरप्रमुख राईले बताइन्।
प्रअको तवरबाट के जवाफ आउँछ भनेर स्पष्टीकरण सोधिएको छ। त्यही स्पष्टीकरणलाई कुरिरहेका छौ। त्यसपछि प्रक्रिया अगाडी बढाउँछौ। बैंक स्टेटमेण्ट पनि हेर्नुपर्ने आवश्यक देखिएको छ। नगरप्रमुख राईले भनिन्। शैक्षिक सुधारका निमित्त नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयहरुको छड्के अनुगमन गरिरहेको छ।
दशै यता जलन्धारासँगै सरस्वती मावि अर्खौले, दुर्छिम मावि दुर्छिम, जगदम्बा आवि महादेवस्थान, पञ्चकौशिका आवि राजपानी र बोझेओडार आविको अनुगमन गरिएको नगरप्रमुख राईले बताईन्।
नगरप्रमुख राईका अनुसार अनुगमन गर्दा प्रायःजसो विद्यालयमा समयभन्दा अगाडी नै शिक्षक घर गएको, कुनैमा शिक्षकले भोलीसम्मको हाजिरी अघिल्लै दिन गरेको पाइएको छ। बडहरेको बोझेओडार आविमा हालसम्म शौचालय नै नभएको पाइएको छ।