खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने योजना अघि सारेको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले आफ्नै प्रशासकीय भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई श्रोत सुनिश्चितताका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
हाल जिल्ला प्रशासन कार्यालयको जग्गामा तत्कालिन जिल्ला प्राविधिक कार्यालयको नाममा बनाइएको चार तले भवनबाट नगरपालिकाको कामकाज सञ्चालन हुँदैआएकोमा आफ्नै भवन बनाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।
तत्कालिन जिल्ला प्राविधिक कार्यालयको निर्माणाधिन भवनलाई नै नगरपालिकाले पूर्णता दिएर आफ्नो भवन बनाएको हो । १९ कोठा भएको भवन निर्माणका क्रममा नगरपालिकाको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत गरी ८९ लाख ६१ हजार ९भ्याट वाहेक० बजेट खर्च भएको छ ।
भवन निर्माण भइरहेको बेला राज्य पुःर्नसंरचनाकाक्रममा प्राविधिक कार्यालय हटेपछि नगरपालिकाले सोही भवनलाई आफ्नो प्रयोजनका लागि निर्माण गर्ने अनुमती पाएको थियो ।
बैठकले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न र निर्वाचनका विषयमा मतदातालाई सुसूचित गराउनका लागि मतदाता शिक्षा कार्यक्रम चलाउन आवश्यक बजेट व्यवस्था गर्ने, आर्थिक वर्ष २०७८/०७९ मा विविध कारणले भुक्तानी हुन बाँकी रहेका विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी विवरण प्रमाणित गरी अल्याबाट भुक्तानी गर्ने निर्णय गरेको छ ।
यस्तै, नगरको स्वामित्वमा रहेका तर चालु अवस्थामा नरेका सवारी साधनको व्यवस्थापन गर्न समिति गठन गरी जिम्मा दिने, सोही समितिमार्फत राजनीतिक दल, निर्माण व्यवसायी, नागरिक समाज, पत्रकार लगायतसँग छलफल गरी व्यवस्थापनका विषयमा निष्कर्ष निकाल्ने, बजेट व्यवस्था गरी व्याकहो लोडर खरिद गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।
नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई परिमार्जन गर्नका लागि शिक्षा सुधार कार्यदललाई वा शिक्षा शाखालाई जिम्मेवारी दिने, मुद्रण भइ प्राप्त भएका स्थानीय पाठ्यपुस्तक विद्यालयलाई वितरण गर्ने, कृषि तथा पशुसेवातर्फका कर्मचारी पदपुर्तिको लागि योग्य आवेदकलाई परिक्षामा सामेल गराउने, नगरको गौरवको आयोजना तथा महत्वपूर्ण आयोजना–योजनाको डिपिआररआइईईरइआइए र प्राविधिक लागत अनुमान तयारी गर्ने निर्णय गरेको छ ।
यस्तै, गैर–आवाशीय नेपाली संघ जापानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने, जापानको कुनै नगरपालिकासँग भगिनी सम्वन्ध स्थापना गर्न प्रयत्न गर्ने निर्णय गरिएको प्रवक्ता घिमिरेले जानकारी दिएका छन् ।