खोटाङमा राती ९ बजेबाट मत गणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार साँझ बसेको उम्मेदवार सहितको सर्वदलीय बैठकले सोमबार राती ९ बजेबाट मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत शुभाषबाबु पुरीले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका रुपमा प्रयोग गरिएको जिल्ला अदालतको तीन कोठामा ताल जालीले बारेर मत गणनास्थल तयार पारिएको छ ।
बैठकले एउटा कोठामा प्रतिनिधिसभा र अन्य दुई कोठामा प्रदेशसभा (क) र प्रदेशसभा (ख) को मत गणना गर्ने र एक पटकमा पाँच सय मत गणना गरिसकेर परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
यस्तै, मतपत्र सदर वा बदर सम्वन्धमा निर्देशिका र निर्वाचन आयोगबाट भएको परिपत्र बमोजिम हुनेगरी मुख्या निर्वाचन अधिकृतबाट अन्तिम निर्णय भए बमोजिम हुने, मत गणनास्थलमा प्रत्येक उम्मेदवारका एकरएक जना प्रतिनिधि बस्न पाउने लगायतका निर्णय भएका छन् ।
मत गणना स्थलमा प्रवेश पास भएका व्यक्तिको मादक पदार्थ सेवन जाँच गर्ने र मापसे गरे प्रवेश नदिने निर्णय भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ (४७.१७ प्रतिशत) मत खसेको छ । निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क) मा १० जना र प्रदेशसभा (ख) मा छ जना उम्मेदवार छन् ।