खोटाङ । हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम दुई महिनाभित्र पुरा गर्न हलेसी तुवाचुङ नगरपालिकाले ठेकेदारलाई कागज गराएको छ । चार पटक म्याद थप हुँदा पनि (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम पुरा नगरेको भन्दै नगरपालिकाले जनप्रतिनिधि, संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रतिनिधि, उपभोक्ता समिति लगायतको उपस्थितिमा ठेकेदारलाई बोलाएर दुई महिनाभित्र काम पुरा गर्न कागज गराएको हो ।
दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्का लिएको दिवा–महादेव खिम्तीलाई १७ मंसिरको मितिबाट १६ माघसम्ममा काम सम्पन्न गर्न कागज गराइएको छ । दिवा–महादेव खिम्तीका प्रोजेक्ट मेनेजर प्रतिक पौडेलले दुई महिनाभित्र दुधकोसीको पानी भुम्भुडाँडा र काभ्रेडाँडामा निकाल्ने प्रतिवद्धता सहित निर्णयमा हस्ताक्षर गरेका छन् ।
यस्तै, काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का लिएको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीलाई पनि आगामी १६ माघसम्ममा आफ्नो काम सम्पन्न गर्नेगरी कागज गराइएको छ ।
सोही आयोजना अन्तरगत भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लिएको लामा कन्ट्रक्सनका प्रोजेक्ट मेनेजर दिपक गयमरुलाई पनि आगामी १६ माघसम्ममा आफ्नो जिम्माको काम पुरा गर्न प्रतिवद्धता–पत्रमा हस्ताक्षर गराइएको छ ।
दुई महिनाभित्र मुख्य–मुख्य काम पुरा गर्ने र आगामी चैतसम्ममा आयोजनाको सम्पूर्ण काम पुरा गर्नका लागि ठेकेदारलाई कागज गराइएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईले बताईन् ।
सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्नका लागि सुरु गरिएको करिब एक अर्वको आयोजना कछुवाको गतिमा अघि बढिरहेको छ । ‘निर्माण व्यवसायीले हरेक महिनाको कामको भौतिक तथा वित्तीय प्रगती विवरण नगरपालिकामा पेश गर्नुपर्ने छ । चैतसम्ममा पम्पिङ आयोजनाको काम सम्पन्न गर्ने भनेर कागज गराइएको छ,’ नगरप्रमुख राईले भनिन्, ‘निर्माण व्यवसायीले ढिलासुस्ती गर्छ, जनप्रतिनिधिले गाली खानुपरिरहेको छ । तोकिएको समयमा तोकिएको काम पुरा नभए निर्माण व्यवसायीमाथि कारबाही प्रकृया थालिने छ ।’
२०७६ साल पुस १७ गतेसम्ममा ३१ करोड ७५ लाख ९६ हजार (भ्याट वाहेक) मा सम्पन्न गर्नेगरी ठेकेदार कम्पनी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते बृहत पम्पिङ खानेपानी आयोजनाको मेनलाईनको ठेक्का सम्झौता गरेको थियो ।
यस्तै, २०७७ साल असार ३० गतेसम्ममा सक्ने शर्तमा २०७५ साल असार ३१ गते वितरण लाइनतर्फको कामको सम्झौता गरिएको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजार र लामा कन्ट्रक्सनले ३७ करोड ९३ लाख ५७ हजारमा वितरण लाईनको ठेक्का लिएको हो ।
गत स्थानीय तहको चुनाव यता पम्पिङ खानेपानी आयोजनाको काम ठप्प छ । चार पटक म्याद थप हुँदा दिवा–महादेव खिम्तीले ८३ प्रतिशत काम सम्पन्न गरेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताए ।
यस्तै, रमन सगरमाथा–सगरमाथा घिमिरेले ७०.५ प्रतिशत र लामा कन्ट्रक्सनले ७६.५ प्रतिशत काम सम्पन्न गरेको कार्यालयले जनाएको छ । महादेवबेँसी र काभ्रेडाँडाको बिचमा चार लाख लिटरको तीन वटा, तीन लाख लिटरको एउटा र एक लाख लिटरको पाँच वटा ट्यांकी बनिसकेको छ । कदुवा र भुम्जुडाँडाको बिचमा पनि सोही प्रकृतिको ट्यांकी बनिसकेको छ ।
दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको छ ।