• ट्रेण्डिङ:

हलेसीमन्दिर परिसरमा १९ वटा सीसी क्यामेरा जडान

हलेसीमन्दिर परिसरमा १९ वटा सीसी क्यामेरा जडान

रोदिक खबर

२३, मंसिर २०७९
  • 2.1K
    SHARES
  • हलेसीमन्दिर परिसरमा १९ वटा सीसी क्यामेरा जडान

    खोटाङ । खोटाङको त्रिधार्मिकस्थलहलेसी मन्दिर परिसरमा सीसी (क्लोज सर्किट टेलिभिजन) क्यामेरा जडान गरिएको छ । यसअघि जडान गरिएको सीसी क्यामेरालाई चट्याङले बिगारेर काम नदिने भएपछि पुनःनयाँ र गुणस्तरीय सीसी क्यामेरा जडान गरिएको हो । यसअघि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नौ लाख र हलेसी महादेवस्थान विकास समितिको छ लाख गरी कूल १५ लाख बजेटमा जडान गरिएको मनिटर (डिसप्ले डिभाइस) र पोल बाहेक सबै सीसी क्यामेरा र तारलाई चट्याङले नष्ट गरेपछि पहिलाक्यामेरा राखिएको ठाउँमै पुनःतार टाँगेर नयाँक्यामेरा जडान गरिएको छ । 

    हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको आठ लाख ६४ हजार बजेटमा सेक्युर केनाइट आइटी सोलुसनप्रालि काठमाण्डौंले एकहप्ता अघिबाट जडान सुरु गरेर आज (शुक्रबार) सम्पन्न गरेपछि सीसी क्यामेरा सञ्चालनमा आएको महादेवस्थानका वडाध्यक्ष एवंम् हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिए । राती पनि प्रष्ट देखिने १९ वटा सीसी क्यामेराको कन्ट्रोल रुम ब्याट्री ब्याकअपसहित इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ । त्यहीबाट प्रहरीले क्यामेराको सहायतामा सुरक्षास्थिति अझ नजिकबाट निगरानी गर्नेछ ।

    पहिला पनि क्यामेरा जडान गरिएको थियो तर, चट्याङले नष्ट गरेपछि अहिले भने वारेन्टी र ग्यारेन्टी सहितको क्यामेरा जडान गरिएको छ । पहिला बिजुलीको पावर सिधै क्यामेरामा जोडिएको रहेछ । वडाध्यक्ष गिरीले भने, ‘अहिले ब्याकअपमा बिजुलीको पावर जोडिएको छ । चट्याङले बिगारे पनि ब्याकअप बिगार्छ क्यामेरा बिगार्न सक्दैन ।’

    सीसी क्यामेरा हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख बिमला राईको निर्देशन र वडाको समन्वयमा जडान गरिएको हो । जडान गरिएको क्यामेराले ग्यारेज टोल, ट्राफिक चोक, सालपाचोक, रिठ्ठाबोटे, मन्दिर प्राङगण, डाँडाबजार हुुँदै ट्राफिक चोकसम्म निगरानी गर्नेछ । हलेसी मन्दिर र हलेसी बजार परिसरमा सुरक्षा दृष्टिकोणलाई मध्यनजर राख्दै जडान गरिएको क्यामेराले जनतालाई सुरक्षाको प्रत्याभूति गराउन र अपराधिक कार्य हुन नदिन सहयोग पु¥याउने अपेक्षा गरिएको नगरप्रमुख राईले बताइन् । 

    बौद्ध, हिन्दु र किराँतधर्मावलम्बीहरुको संगमस्थल हलेसीमा नेपालबाहेक चीन, भुटान, भारत, सिंगापुर, जापान, रुस, अमेरिकाबाट दर्शन तथा पुजाआजका लागि तीर्थालु भक्तजन र पर्यटक आउने गर्छन् ।बौद्ध धर्मावलम्बीहरुले हलेसीलाई दोश्रो लुम्बिनी, हिन्दु धर्मावलम्बीहरुले दोश्रो पशुपतिनाथ र किराँत धर्मावलम्बीहरुले आदिमभूमिको रुपमा लिने गर्दछन् ।

     

    प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - १६:१४:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको