खोटाङ । नेपाल पत्रकार महासंघ शाखा खोटाङको दशौं साधारण सभामा सम्पन्न भएको छ । साधारण सभाले पत्रकारलाई आइपर्ने कानूनी समस्या हल गर्नका लागि वैतनिक कानून व्यवसायी राख्ने व्यवस्थाका लागि पहल गर्ने निर्णय गरेको छ ।
मंगलबार जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न साधारणसभाले कानूनी समस्यामा परेका पत्रकारको सहयोगका लागि वैतनिका कानून व्यवसायी राख्ने व्यवस्थाका लागि पहल गर्न महासंघको प्रदेश र केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
विशेषगरी समाचार सम्प्रेषण गरेवापत कतिपय पत्रकारलाई साईवरक्राईमको मुद्धा लगाएर पक्राउ गर्न थालिएकाले पत्रकारका लागि वैतनिक कानून व्यवसायीको माग उठाइएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले बताए ।
समाचारका विषयलाई लिएर साईवरक्राईम लगायतका कानूनी झमेलामा फसेका पत्रकारको सहयोगार्थ साधारणसभाबाट वैतनिक कानून व्यवसायीको आवश्यकता औंल्याइएको महासंघले जनाएको छ ।
साधारण सभाले नेपाल पत्रकार महासंघको नयाँ पक्की भवन निर्माणका लागि दिक्तेलबजारभित्र जग्गा खोज गर्ने, जग्गा प्राप्त नभए दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा (साविक दिक्तेल–६) मा महासंघकै नाममा रहेको पुरानो कच्ची भवन हटाएर पक्की भवन निर्माणको प्रक्रिया अगाडि बढाउने, पत्रकारहरुको हितमा स्थापना गरिएको पत्रकार आपतकालीन सहायता कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित, पत्रकारिता पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि पारित गरेको छ ।
यस्तै, एक सूचना केन्द्र तथा ई–लाइब्रेरी सञ्चालनका लागि महासंघको प्रदेश र केन्द्रीय समिति, प्रेस काउन्सिल, नेपाल प्रेस ईन्स्टिच्यूट, खोज पत्रकारिता केन्द्र लगायतसँग समन्वय गर्ने, महासंघ जिल्ला शाखाको मातहतमा रहने गरी कुनै पनि व्यक्ति वा संस्थाले पुरस्कार कोष स्थापना गर्न चाहेमा कोष स्थापनाका लागि खुल्ला गर्ने, जिल्लाका समग्र सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दीर्घकालीन र टिकिरहने अवस्था सिर्जना गर्न योजना निर्माण गर्ने निर्णय पारित गरिएको छ ।
साधारणसभाले पत्रकारको क्षमता अभिबृद्धि सम्वन्धी तालिम सञ्चालन गर्ने तथा निरन्तर पत्रकारिता गरीरहेका पत्रकारहरुलाई खोज पत्रकारितातर्फ प्रोत्साहित गर्न खोजपत्रकारिता तालिम सञ्चालन गर्ने, जिल्लाका पत्रकारलाई ‘पत्रकार दुर्घट्ना बिमा’ गर्न, प्रेस प्रतिनिधि कार्ड लिन, सूचना तथा प्रशारण विभागमा तोकिएको समयमा अनलाइन नविकरणका लागि प्रोत्साहित गर्ने लगायतका निर्णय पारित गरिएको अध्यक्ष खत्रीले बताए ।
प्रतिनिधिसभा सदस्य रामकुमार राईको प्रमुख आतिथ्यता एवं प्रदेशसभा सदस्य पाँचकर्ण राईको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, नेपाली कांग्रेस खोटाङका कोषाध्यक्ष नवराज राई, नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेकपा माओवादी केन्द्र खोटाङका सचिव जीवन राई संगीन, राप्रपा खोटाङका अध्यक्ष ललितकुमार राई, जनता समाजवादी पार्टीका सचिव सुनिल राई, जिल्ला समन्वय समिति खोटाङका सदस्य दुर्गाप्रसाद घिमिरे,बरिष्ठ पत्रकार तथा सम्पादक समाज नेपाल खोटाङका अध्यक्ष कृष्ण आचार्य, नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष डम्वरसिं राई, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीनकुमार राई लगायतले साधारण सभा सफलताको शुभकामना दिएका थिए ।