खोटाङ । खोटाङको जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कारोबार सात करोड नाघेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित सहकारीको आर्थिक वर्ष २०७८/०७९ मा वार्षिक कारोबार पुँजी सात करोड ३६ लाख ६१ हजार २८४ रुपैयाँ पुगेको हो ।
शनिबार जालपामा सम्पन्न २६ औं साधारणसभामा सहकारीले हालसम्म चार करोड ६६ लाख ८४ हजार २०५ रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएको छ । बचत गर्ने र आयमुलक काममा लगानी गर्दै जीवीकोपार्जनमा टेवा पु¥याउने उद्धेश्यले जनसेवा समाज नेपाल जालपाको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत २०५३ सालमा स्थापना गरिएको सहकारीको शेयर पूँजी ८१ लाख ४९ हजार ६०० रुपैयाँ पुगेको जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए ।
हाल पाँच करोड ८८ लाख ६६ हजार ७६७ रुपैयाँ ऋण लगानीमा रहेको सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको २०७८/०७९ को प्रगती प्रतिबेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७८÷०७९ मा सहकारीले आठ लाख ५१ हजार ९५६ शेयर लाभांश वितरण गरेको छ । साधारणसभाले भावी निती तथा कार्यक्रम, प्रस्तावित बजेट, लेखा परीक्षण, विद्यान संशोधन लगायत पारित गरेको छ ।
सहकारीमा जालपा सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र रावाबेँसी गाउँपालिका–६ हौंचुरका १०२ बचत तथा २८ वाल बचत समुहका एक हजार ९५१ शेयर सदस्य छन् । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले माक्पा र सप्तेश्वरमा समेत कारोबार सुरु गर्ने योजना बनाएको छ । सहकारीले रेमीट्यान्स कारोबार पनि गर्दैआएको छ ।