बालिका अमृता राईको नाममा जम्मा भएको बैंक भौचार आमा आयु राईलाई हस्तान्तरण गर्दै नगरप्रमुख विमला राई ।
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका १० जना बालिकाका आमालाई बालिका विकास बचत भौचर हस्तान्तरण गरिएको छ । नगरपालिका र वडाको संयुक्त आयोजनामा सोमबार वडा कार्यालय राजापानीमा एकीकृत सेवा प्रवाह कार्यक्रम राखेर १० जना बालिकाका आमालाई नगरप्रमुख बिमला राईले बालिका विकास बचत भौचर हस्तान्तरण गरेकी हुन् ।
छोरीको सम्मान र प्रोत्साहनका लागि नगरपालिकाले छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयासस्वरूप आर्थिक वर्ष ०७७/७८ बाट ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो । ‘बालिका विकास बचत’ कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को साउन यता जन्मिएका बालिकाहरुलाई ३ वर्षसम्म वार्षिक ४ हजारका दरले रकम प्रदान गरिने व्यवस्था छ ।
कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखा बीच वार्षिक ९ प्रतिशतले ब्याज उपलब्ध गराउने गरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको छ । बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ ।
स्वास्थ्य संस्थामा चारपटक गर्भ जाँच गरेको, स्वास्थ्य संस्थामै सुत्केरी गराएको, स्थानीय स्वास्थ्य संस्थाले नसकेको अवस्थामा कतै रिफर भई सुत्केरी गराएर जन्मिएको बालिकालाई यस कार्यक्रमले सहयोग गर्नेछ । लामो समय वाहिर बसेर आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा यो कार्यक्रम लागू नहुने नगरप्रमुख राईले बताइन् ।