शुक्रवार, भाद्र २६ गते २०८३

माघे संक्रान्तिमा किरातको यले तङ्गवे

माघे संक्रान्तिमा किरातको यले तङ्गवे

रोदिक खबर

१, माघ २०७९
  • 1.8K
    SHARES
  • माघे संक्रान्तिमा किरातको यले तङ्गवे

    पाँचथर । माघी पर्वसँगै आइतबारदेखि किराती पात्रोमा वर्ष फेरिएको छ । यो दिन पूर्वी नेपाल थातथलो भएर संसारभरि फैलिएका लिम्बू समुदायका सदस्यहरू किरात नयाँ वर्ष धुमधामले मनाउने गर्छन् ।

    मकर संक्रान्तिसँगै सुरु हुने नयाँ सम्वत्लाई किरात लिम्बू समुदायले ‘यले तङ्गवे’ भनेर मनाउँछन् । उनीहरूका लागि माघ १ नयाँ वर्ष हो । यो समुदायको सम्वत विक्रम सम्वत्भन्दा पनि ३ हजार ४ वर्ष पुरानो मानिन्छ । किराती राजा यलम्बरले नेपालमा शासन सुरु गरेपछि यले तङ्गवे मनाउन थालिएको इतिहास छ ।

    किरात उक्ति र इतिहासमा उल्लेख गरिएअनुसार यस सिजनमा बहुमूल्य र दुर्लभ मानिने चाँप फूल्ने भएकाले यले तङबेसँगै ‘कक्फेवा तङनाम’ भन्ने गरिएको हो । लिम्बू भाषामा ‘कक’ भनेको चाँप, फेवा भनेको फूल्ने र तङनाम भनेको सिजन अर्थात् चाँप फुल्ने सिजन हो । चाँप फुल्न थालेसँगै नयाँ सम्वत फेरिने इतिहास रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरिचन्द्र लावती बताउँछन् ।

    लिम्बूमा परिवारका ज्येष्ठ सदस्यले यले तङ्गवेको पहिलो बिहान वन तरुल पोलेर टीका लगाइदिँदै आशिष दिने चलन छ । यो अवसरमा लिम्बू जाति बाहुल्य पाँचथरसहित तेहथुम, ताप्लेजुङ, इलाम, झापा, धनकुटालगायत जिल्लामा भव्यतापूर्वक मनाइन्छ ।

    यस्तै आफूहरूको सघन बसोबास रहेको काठमाडौं, ललितपुरसँगै हङकङ र सिंगापुरसम्म यो पर्व उल्लासपूर्वक मनाइँदै आएको लिम्बू समुदायका अगुवा तथा इतिहासविद् राजेन्द्रकुमार जवेगु बताउँछन् । यो मौकामा वनभोज खाने, शुभकामना आदानप्रदान गर्ने, आफन्तसँग भेटघाट गर्ने र वर्षभरिका लागि योजना निर्माण गर्नेसम्मका काम गरिन्छ ।

    लिम्बूहरूले यले तङवे भनेझैं यो पर्वलाई थारू समुदायले माघी र हिन्दुहरूले मकर संक्रान्ति तथा मुलुकका विभिन्न भूभागवासीले आ–आफ्नै तरिकाले मान्ने गरेको पाइन्छ । मगरहरूले पनि यो पर्वलाई माघे (माघ्या) संक्रान्ति भनेर मनाउँछन् । भौगोलिक र जातीय विविधता भएको हाम्रो मुलुकमा जसले र जसरी मनाए पनि यसलाई नेपालीलाई जोड्ने साझा पर्वका रूपमा लिन सकिने सांस्कृतिक अभियन्ताहरू बताउँछन् ।

    प्रकाशित मिति :माघ १, २०७९ आइतवार - १३:३०:५० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको