खोटाङ । खोटाङको सोल्मा स्पोर्टस् क्लवले आगामी फागुन दोश्रो साता वडास्तरिय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको छ । फुटबलको व्यवसायीक बिकासमा टेवा पुर्याउने उद्धेश्यकासाथ क्लवले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित खेलमैदानमा फागुन ६ गतेदेखि फागुन १३ गतेसम्म वडास्तरिय फुटबल प्रतियोगीता गर्ने तयारी गरेको हो । प्रतियोगीतामा प्रथम, दोश्रो र सेमीफाइनलिष्ट हुने टिमले क्रमशः नगद एक लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने सोल्मा स्पोर्टस् क्लवका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।
प्रतियोगीताका अनुशासित टिम र बेष्ट प्लेयरलाई पाँच हजार ५५५, बेष्ट किपर, बेष्ट डिफेण्डर, बेष्ट मिड फिल्डर, हाइ स्कोरर, बेष्ट कोच र योङगेष्ट प्लेयरलाई जनही तीन हजार ३३३ रुपैयाँ प्रदान गरिने क्लवले जनाएको छ । एलाभेन साईजको खेलमा खोटाङभित्रका वडालाई मात्र सहभागी गराइने छ ।
फुटबल टिममा एकै वडाको खेलाडी हुनुपर्ने छ । तीनजना खेलाडी भने खुल्ला हुने क्लवले जनाएको छ । प्रतियोगीताका लागि माघ २७ गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिने र माघ २८ गते खेल तालिका सार्वजनिक गरिने क्लवका अध्यक्ष राईले बताए ।
स्थानीयको अग्रसरतामा सोल्मामा गरिएको खेलमैदानमा सोल्मा स्पोर्टस् क्लवले फुटबल प्रतियोगीता सञ्चालन गर्दैआएको छ । खेलमैदानको थप काम सुरु भएपछि केही वर्ष यता फुटबल प्रतियोगीता अवरुद्ध भएकोमा खेलमैदानको काम सकिएपछि पुःन फुटबल प्रतियोगीतालाई निरन्तरता दिन लागिएको अध्यक्ष राईले बताए ।
वडास्तरिय फुटबल प्रतियोगीताको अवसरमा एक जना पत्रकारलाई पाँच हजार ५५५ रुपैयाँ राशीको सोल्मा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गर्ने क्लवले जनाएको छ ।