काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानूनलाई मूर्तरूप दिने बताएकी छन् । नेपाल पत्रकार महासङ्घले सोमबार आयोजना गरेको ‘‘बधाई तथा शुभकामना’ कायक्रममा सरकारका प्रवक्ता शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन गर्नुपर्ने आवश्यकता औँल्याएकी हुन् ।
उनले पुराना कानूनलाई प्रतिस्थापन गर्दै नयाँ सञ्चारसम्बन्धी कानूनलाई सरोकारवालाको प्रत्यक्ष सहभागितामा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सञ्चारमन्त्री शर्माले भनिन्, “महासङ्घलगायत सरोकारवाला संस्थालाई सञ्चार क्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव प्राप्त हुन्छ र त्यही आधारमा सुधार गरिँदै लैजाने तयारी भइरहेको छ ।”
सोही अवसरमा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले महासङ्घले सञ्चार प्रतिष्ठानको स्थापना गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए ।
महासङ्घका अध्यक्ष विपुल पोखरेलले संसद्मा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानूनलाई पूर्णता दिन मन्त्री शर्मालाई आग्रह गरे। सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्दै आएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्ने अध्यक्ष पोखरेलको भनाइ थियो ।
आमसञ्चार प्रतिष्ठान, ज्येष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा अध्यक्ष पोखरेलले जोड दिए ।
महासङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार डा. महेन्द्र विष्टले प्रविधिको विस्तार र पहुँचसँगै सञ्चारक्षेत्रले जनताको जीवनस्तर माथि उठाउन सहयोग पु¥याउनुपर्ने धारणा राखे ।
महासङ्घका सल्लाहकार एवं पूर्वअध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितका लागि प्रचलित कानूनका आधारमा विभिन्न कोष स्थापना गर्नुपर्नेमा जोड दिए । उनले रोजगारमूलक साना लगानीका मिडिया बन्द हुने अवस्थामा रहेको, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नभएको भन्दै पत्रकारको बृहत्तर हितका लागि महासङ्घले पहलकदमी लिनुपर्ने बताए ।
त्यसैगरी, महासङ्घका सल्लाहकार निर्मला शर्माले राजनीतिक क्षेत्रबाट बेलाबेला आउने अभिव्यक्तिबाट सञ्चारक्षेत्रलाई चुनौती बढ्दै गएको बताइन्। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको विकाससँगै हाल विकास भइरहेको नयाँ मिडियाको नियमन गर्न आवश्यक रहेको बताए । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार प्रतिष्ठानको तत्काल स्थापना गर्न आवश्यक रहेको बताए ।