खोटाङ । खोटाङमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धि एक दिने जिल्ला स्तरीय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । एक नम्बर प्रदेश सरकार अन्तरगत स्वास्थ्य निर्देशनालय आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा धनकुटाको आयोजनामा दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पताल खोटाङमा बिहीवार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारासहित शुरु भएको यस अभियानले हरेक नागरिकले आफ्नो जीवनशैली परिवर्तन गरेर गुणस्तरीय स्वास्थ्य सेवा अपनाउन आवश्यक रहेकाले सबै उमेर, वर्ग र समुदायका जनतामा स्वस्थ रहन अपनाउनुपर्ने उपायहरुको बारेमा छलफल चलाउने, स्थानीय स्तरमा पाइने जडिबुटीको बारेमा ज्ञान दिने, ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ को बोध गराउने लगायतका काम यस कार्यक्रमले गर्ने प्रदेश १ स्वास्थ्य मन्त्रालयका चिकित्सक रविन्द्र निरौलाले बताए ।
आयुर्वेदिक खाना सेवन, नियमित योग, ध्यान र सकारात्मक जीवनशैलीले गुणस्तरीय स्वास्थ्य प्राप्त हुने भएकाले नियमित व्यायाम तथा योगाभ्यास, नसर्ने रोगको नियमित स्वास्थ्य परिक्षण गराउने सचेतना पनि नागरिकलाई माझ पु¥याउने कार्यक्रमको उद्देश्य रहेको निरौलाको भनाइ छ ।
हाल जिल्ला स्तरसम्म मात्र रहेको नागरिक आरोग्य सेवा कार्यक्रम अब पालिका हुँदै वडासम्म पु¥याउने तयारी गरिएको जिल्ला आयुर्वेद अस्पताल खोटाङका प्रमुख डाक्टर उमेश कुमार मेहताले बताए ।
अभिमुखीकरण कार्यक्रम पश्चात यस अभियानलाई सफल बनाउनका लागि कार्यक्रममा उपस्थित सबैले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ को नारालाई आत्मसाथ गर्दै आफ्नो अस्वस्थ्यकर क्रियाकलाप त्यागेर आजैबाट आफ्नो व्यवहार परिवर्तन गरी नागरिक आरोग्य कार्यक्रमको अभियानलाई म बाट मेरो परिवार, कार्यालय, समाज, समुदाय तथा टोलटोलमा पुयाउने तथा समाजमा विद्यमान नसर्ने तथा सर्ने रोगको जोखिम तत्व न्युनिकरण गरी स्वस्थ समाजको निर्माण गर्न प्रतिबद्धतापत्रमा हस्ताक्षर समेत गरेका छन् ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सरोकारवाला निकायहरु, नगरपालिकाका विभिन्न वडामा कार्यरत स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो ।