नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले गाउँपालिकाले शिक्षा ऐन विपरित निर्णय गरेको भन्दै निर्णय तत्काल बदर गरी यथास्थानमा कामकाज गर्ने वातावरण तयार गर्न माग गरेका छन् ।
राम्चे निकेतन मावि दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ इजारामा प्राशि तृतिय (राहत दरबन्दी) मा कार्यरत शिक्षिका विमला पौडेललाई गाउँपालिकाले माघ २२ गते सितला प्रा.वि दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ मा पठाइएकोे निर्णय शिक्षा ऐन विपरित भएकाले तत्काल सच्याउन माग गर्दै शिक्षकहरुका पालिकास्तरीय दुई पेशागत संगठनहरुले गाउँपालिकामा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले बिहीवार गाउँपालिका पुगेर प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहाद्र राईलाई ज्ञापनपत्र बुझाएका हुन्।
विज्ञप्तिमा भनिएको छ–‘दिप्रुङ चुइचुम्मा गाउँपालिकाको मौजुदा शिक्षा ऐन नियामावली विपरित तथा शिक्षक पेशाको पेशागत हकहित विपरित घर अपायकपर्ने गरी वैचारिक आस्था र प्रतिशोधका आधारमा भएको र यस दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट शैक्षिक सुधारको निमित्त सकारात्मक कार्य गर्नुको अलवा आस्थाको आधारमा प्रतिशोधको भाव राखी शिक्षकहरुको मनोवल घटाउने गरी एकपछि अर्को सरुवाको निन्दनीय कार्य गरेकाले उक्त निर्णयप्रति हामी शिक्षकहरुको ध्यानाकर्षण भएको छ ।’
यस्तै, गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले भने लामो समयदेखि त्यस विद्यालयमा एकजना पनि शिक्षक नभएकाले तत्काल काम गर्नका लागि पठाईएको बताए । गाउँपालिकाभित्र सबैभन्दा बढि प्रावि दरवन्दी राम्चे निकेतन माविमा भएको र खाली रहेको विद्यालयमा पनि राहत दरबन्दी नै भएकाले तत्कालको समस्या हल गर्न उहाँलाई त्यहाँ पठाइएको हो, उनले भने–अर्को शिक्षकको व्यवस्था हुनासाथ उहाँलाई यथास्थानमै पठाउँछौ ।
