शुक्रवार, भाद्र २६ गते २०८३

यसरी भएको थियो हलेसीको उत्पति

यसरी भएको थियो हलेसीको उत्पति

रोदिक खबर

६, फाल्गुण २०७९
  • 2.3K
    SHARES
  • यसरी भएको थियो हलेसीको उत्पति

    खोटाङ । भस्मासुर राक्षसले महादेवको घनघोर तपस्या गरेछन् र महादेव खुशी भई वरदान माग भन्दा उनले ’जसको थाप्लोमा म हात राख्छु त्यो चुर्णहोस’ भन्ने वरदान मागेछन् । महादेवले पनि तुरुन्तै तथास्थु भनी वरदान दिएछन् । भस्मासुरले यो वरदान सद्दे छ कि यो हो कि होइन भनेर जाँच्न महादेव कै थाप्लोमा हात राख्न खोजेछन् ।

    महादेव डरले त्राही त्राही माम भएर भागेछन् । भस्मासुरले पनि छाडेन छन् । महादेव हलेसीको चट्टानै फोडेर जमीन भित्र पसेछन् र द्वारमा आफ्नो वाहन बसाहालाई पाले राखेछन् । बसाहाले युद्ध गरेर भस्मासुरलाई निकैवेर सम्म अलमल्याई दिएपछि । त्यतिन्जेल सम्ममा महादेव पहाड छिचोलेर आकाशमा निस्केछन् र नजीकै जमीन छेंडी पातालमा घुसेर लुकेछन । यसरी त्यहाँ बसाहाथान र महादेव थान दुइवटा गुफा बनेको प्रशंग आउँदछ ।

    हलेसी महादेव पतालको गुफामा लुकेपछि विष्णुले मोहनी रुपलिएर नृत्य गर्दै राक्षसलाई भुलाउन आएछन् । एउटी रुपवति आइमाई देखेपछि भस्मासुरले महादेवलाई भुलेछन् र उनकै जस्तो नाँच नाच्ने नक्कल गर्दा आफ्नै टाउकोमा हात राख्न पुगी उनी भष्म भएको इतिहास पाईन्छ ।

    किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगमस्थल ‘हलेसीधाम’ नेपालका थुप्रै तीर्थस्थल एवं पर्यटकीय स्थल मध्ये एक हो । ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्ती छ ।
    यहाँ बर्षेनी किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पुज्ने गर्छन् ।

    अर्का तिर हिन्दू धार्मिक किंम्वदन्ती अनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस्’ भन्ने वरदान मागे । भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भने । तर, वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भए । त्यसैले यहाँ महादेवको बास रहेको विश्वास गरिन्छ ।

    त्यस्तै, बौद्ध धर्मानुसार यस भूमिमा सयौं वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्य गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दछन् । त्यसैले पनि यहाँ वर्षेनी किरात, बौद्ध तथा हिन्दू धर्मावलम्बी हजारौंको संख्यामा भित्रिन्छन् ।

    पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान आउन नेपालका जुनसुकै ठाउँबाट पनि गाढी चढेर आउन सकिन्छ । यस मन्दिरमा विशेष गरेर शिवरात्री र रामनवमीका दिन भक्तहरूको निकै घुईंचो लाग्दछ ।

    प्रकाशित मिति :फाल्गुण ६, २०७९ शनिवार - ०८:०१:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको