खोटाङ । शिक्षिकाको सरुवाको विरोधमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा शिक्षकले गाउँपालिकामा धर्ना दिएका छन् । शिक्षिकालाई राजनीतिक आस्थाको आधारमा अपायकपर्ने ठाउँमा सरुवा गरेको भन्दै नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले गाउँपालिकामा धर्ना दिएका हुन् ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित राम्चे निकेतन मावि इजारामा प्राशि तृतीय (राहत दरवन्दी) पदमा कार्यरत शिक्षिक विमला पौडेललाई दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित सितला आवि ओख्रेमा सरुवा गरिएको थियो । राजनीतिक आस्थाको सरुवा गरिएको भन्दै शिक्षक संघले संघर्ष समिति र एकीकृत अखिल नेपाल शिक्षक संगठनले आज (बिहीवार) गाउँपालिकामा धर्ना दिएका हुन् ।
विरोधमा उत्रिएको शिक्षक संगठनले फागुन ११ र १२ गते गाउँपालिकाको कार्यालय अगाडि बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म धर्ना दिने जनाएको थियो । सोही अनुसार बिहिबार संगठनमा आबद्ध शिक्षकहरु धर्नामा बसेका छन् । फागुन १३ गतेदेखि १५ गतेसम्म रिले अनसन गर्ने, फागुन १६ गतेदेखि अनिश्चितकालिन विद्यालय बन्द गर्ने र धर्नालाई निरन्तरता दिने घोषणा गरेको छ ।
शिक्षिका पौडेललाई यथास्थानमा कामकाज गर्ने वातावरण तयार गर्न माग गर्दै गत फागुन ४ गते बुझाइएको दुई बुँदे ज्ञापन–पत्रको बेवास्ता गरिएको भन्दै असन्तुष्ट नेपाल शिक्षक संघले आन्दोलनमा उत्रिएको जनाएको छ । गाउँपालिकाको मौजुदा शिक्षा ऐन विपरित वैचारिक आस्था र प्रतिशोधका आधारमा घर अपायकपर्ने ठाउँमा शिक्षिकाको सरुवा गरिएको नेपाल शिक्षक संघका दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष पवन राईले बताए ।
गाउँपालिकाको शिक्षा ऐनमा अपांगता भएका शिक्षक शिक्षिका र महिलालाई पायकपर्ने स्थानमा सरुवा गरिने व्यवस्था विपरित शिक्षिकाको सरुवा भएको संघले जनाएको छ । पौडेल २०६२ सालदेखि राम्चे निकेतन माविमा कार्यरत थिइन् । गाउँपालिकाले माघ २२ गते पौडेलले सितला आवि ओख्रेमा पठाउने निर्णय गरेको थियो ।
यस्तै, गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले भने लामो समयदेखि त्यस विद्यालयमा एकजना पनि शिक्षक नभएकाले तत्काल काम गर्नका लागि पठाईएको बताए । अध्यक्ष राईका अनुसार गाउँपालिकाभित्र सबैभन्दा बढि प्रावि दरवन्दी राम्चे निकेतन माविमा भएको र खाली रहेको विद्यालयमा पनि राहत दरबन्दी नै भएकाले तत्कालको समस्या हल गर्न उहाँलाई त्यहाँ पठाइएको हो ।