खोटाङ। खोटाङको रावाबेँसी गाउँपालिका-१ कुभिण्डे वडा कार्यालयले तीन दीर्घ रोगीलाई आर्थिक सहयोग गरेको छ । नियमित औषधि सेवन गर्दैआएका डम्बरकुमारी विश्वकर्मा, दिलबहादुर विश्वकर्मा र धनकुमारी सार्कीलाई वडा कार्यालयले बुधबार जनही ५/५ हजार सहयोग प्रदान गरेको वडाध्यक्ष गेहेन्द्रमान राईले बताए ।
वडा कार्यालयले ज्येष्ठ नागरिक र पूर्व स्वयंसेविकालाई सम्मान गरेको छ । वडाका ८० वर्ष माथिका ३६ जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो । ज्येष्ठ नागरिकलाई हर्लिक्स पनि वितरण गरिएको छ । यस्तै, दुई पूर्व स्वयंसेविका सावित्रादेवी निरौला र अदिरानी राईलाई मायाँको चिनो करुवासँगै दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ ।
यस्तै, आफैले खरिद गरेर प्रयोग गर्न नसक्ने अवस्थाका ललित विश्वकर्मा र चक्रबहादुर दमाईको परिवारलाई विद्युतको मिटर बक्स प्रदान गरिएको वडाध्यक्ष राईले बताए । कार्यक्रममा गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई, राजनीतिक दलका वडाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।