१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : खोटाङमा जिल्लास्तरीय छनोट खेल शुरु

१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : खोटाङमा जिल्लास्तरीय छनोट खेल शुरु

रोदिक खबर

२८, चैत्र २०७९
  • 2.9K
    SHARES
  • १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : खोटाङमा जिल्लास्तरीय छनोट खेल शुरु

    खोटाङ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत खोटाङमा जिल्लास्तरीय छनोट प्रतियोगिता शुरु भएको छ । आगामी वैशाख–११, १२ र १३ गते सुनसरी जिल्लाको इटहरीमा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि जिल्लामा आज (मङ्गलबार) देखि जिल्लास्तरीय छनोट प्रतियोगिता शुरु गरिएको हो । 

    जिल्लास्तरीय छनोट प्रतियोगितामा जिल्लाका सात स्थानीय तहमा सञ्चालित विद्यालयका छात्रछात्राको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लिलाभक्त केसीले जानकारी दिए । दश स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकामा सञ्चालित माध्यमिक तहका विद्यालयमा अध्ययतरत छात्रछात्राको मात्र सहभागिता रहेको जनाइएको छ ।  

    तीन दिनसम्म सञ्चालन हुने जिल्लास्तरीय छनोट प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले मङ्गलबार औपचारिक रुपमा उद्घाटन गरेकी हुन् । जिल्लास्तरीय प्रतियोगितामा विभिन्न पाँच विद्या (एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराँते र तेक्वान्दो) मा १३८ पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ । 

    दिक्तेलस्थित माटीकोरे खेलमैदानमा शुरु भएको जिल्लास्तरीय छनोट प्रतियोगिता अन्तरगत एथलेटिक्समा २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलमा दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो कराँतेमा आठ स्वर्ण, आठ रजत, आठ कास्य र तेक्वान्दोमा आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा हुने कार्यालय प्रमुख केसीले जानकारी दिए । प्रतियोगितामा स्वर्ण, रजत कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः नगद रु १५ हजार, रु १२ हजार र रु नौँ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    गत वर्ष सञ्चालन भएको १२ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी पहिलो, हलेसी तुवाचुङ नगरपालिका दोस्रो र ऐसेलुखर्क गाउँपालिका तेस्रो भएको थियो । दिक्तेल रुपाकोट मझुवागढीले २२ स्वर्ण, ११ रजत र नौँ काँस्य, हलेसी तुवाचुङले नौँ स्वर्ण, नौँ रजत र छ काँस्य तथा ऐसेलुखर्कले चार स्वर्ण, चार रजत र एक काँस्य पदक जितेको थियो । 
    उद्घाटनपछि मङ्गलबार भएको खेलमा सटफुट थ्रोमा छात्रतर्फ हलेसी तुवाचुङका केलेमेण्ड श्रेष्ठ पहिलो, दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ दोस्रो, केपिलासगढीका इरन राई तेस्रो भएका छन् भने, छात्रातर्फ हलेसी तुवाचुङकी अनिशा भुजेल पहिलो, केपिलासगढीकी जेनिशा राई दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् ।

    ज्याभलिन थ्रोमा छात्रतर्फ दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ पहिलो, हलेसी तुवाचुङका मीनकुमार रानामगर दोस्रो र केपिलासगढीका रोचक राई तेस्रो भएका छन् भने, छात्रातर्फ हलेसी तुवाचुङकी मनिषा राउत पहिलो, ऐसेलुखर्ककी प्रमिला तामाङ दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् । 

    एक हजार ५०० मिटर दौडमा छात्रतर्फ साकेलाका तयाहाङ राई पहिलो, हलेसीका गणेश बस्नेत दोस्रो र हलेसीकै अजय राई तेस्रो भएका छन् भने, छात्रातर्फ केपिलासगढीकी रोजिना बस्नेत पहिलो, सोही ठाउँकी रेवती राई दोस्रो र हलेसीकी अनिशा कार्की तेस्रो भएकी छन् । प्रतियोगिताको बाँकी खेल हरेक दिन बिहान ७ः०० बजेबाट माटीकोरे खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ । 

    प्रदेशस्तरीय प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८÷१८ तथा कराँते र तेक्वान्दोमा छ÷छ जना छात्रछात्राले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईले जानकारी दिइन् । प्रदेशस्तरीय प्रतियोगितामा  खेलाडीसँगै संरक्षक, प्रशिक्षक र व्यवस्थापकसमेत पठाइने आयोजकले जनाएको छ । 

     

    प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - २०:२५:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको