बिहिवार, कार्तिक १३ गते २०८३

ठेकेदारले अति गरेपछि सांसदको नेतृत्वमा डेढ घण्टा चक्काजाम

ठेकेदारले अति गरेपछि सांसदको नेतृत्वमा डेढ घण्टा चक्काजाम

रोदिक खबर

१७, बैशाख २०८०
  • 2.0K
    SHARES
  • ठेकेदारले अति गरेपछि सांसदको नेतृत्वमा डेढ घण्टा चक्काजाम

     खोटाङ  । ठेकेदारले अति गरेपछि खोटाङ प्रदेश ‘क’ बाट निर्वाचित कोशी प्रदेश सासंद पाँचकर्ण राई (पिके) को नेतृत्वमा मध्यपहाडी लोकमार्ग अन्तर्गत महुरेमा डेढ घण्टा चक्काजाम गरिएको छ ।

    सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सकडखण्ड अन्तर्गत खोटाङतर्फको ४८ किलोमिटर सडक चार वर्षमा कालोपत्रे गर्ने ठेक्का लिएको ठेकेदारले सात वर्ष वित्दा पनि कालोपत्रे नगरेपछि आइतबार बिहान मध्यपहाडी लोकमार्ग अन्तर्गत महुरेमा डेढ घण्टा (बिहान ६ बजेदेखि ७ः३० बजेसम्म) चक्काजाम गरिएको हो ।

    sadak3.jpg

    कालोपत्र गर्न आवश्यक पर्ने निर्माण सामग्री समेत अलपत्र छाडेर ठेकेदार फरार भएपछि कोशी प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ को नेतृत्वमा उक्त सडक डेढ घण्टा चक्काजाम गरिएको हो । खोटाङ क्षेत्र नं. १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पिके, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, वडा नं. १४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका वडाध्यक्ष अनिश कार्की लगायत अन्य नेता तथा कार्यकर्ता सडकमा पलेटी कसेर बसेपछि दुई दर्जनबढी यात्रुबाहक सवारी साधन बीच सडकमै रोकिएको थियो ।

    बिहान छ बजेदेखि साढे सात बजेसम्म आयोजना गरिएको चक्काजामका क्रममा ठेकेदारबिरुद्ध चर्का नाराबाजीसमेत भएको थियो । ‘अलपत्र सडक तत्काल निर्माण गर’ लेखिएको ब्यानरसहित चक्काजाममा उत्रनुभएका प्रदेशसभा सदस्य पिकेसहित स्थानीय नेता तथा कार्यकर्ताले ठेकेदारहरुलाई तत्काल कारबाही गर, बेपत्ता ठेकेदारलाई खोजी गर, अति भो, हामीले धुलो÷हिलो कहिलेसम्म खाने असार आउन लाग्यो, असारे बजेट मूर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर मध्यपहाडी लोकमार्ग र सगरमाथा राष्ट्रिय राजमार्गको सङ्गमस्थल महुरेस्थित बीच सडकमै पलेटी कसेर बसेका थिए ।

    1-17.jpg

    प्रदेशसभा सदस्य पिकेको नेतृत्वमा राष्ट्रिय राजमार्ग चक्काजाम गरिएपछि प्रहरीले अवरोध गर्ने प्रयास गरेका थिए । चच्काजाम हटाउन जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्की नेतृत्वको टोली महुरेगढी पुगेपनि रमिते बनेर फर्किएका थिए ।

    प्रहरीले कालोपत्रको काम अलपत्र पारेर फरार भएका ठेकेदारलाई तत्काल पक्राउगरी कानूनी कारबाही गराउन दबाबस्वरुप सडक चच्काजाम गरिएको प्रदेशसभा सदस्य पिकेले बताए । “राज्यको सम्पत्ति दोहन गर्ने ठेकेदारलाई सिडियोले पक्राउ गरेर ल्याउनुपर्छ ।

    जनताले तिरेको कर खाएर बसेका प्रहरी प्रशासन र नेताको संरक्षणमा ठेकेदारहरुले काम नगरेको हाम्रो ठम्याइ छ”, उनले भने, “चक्काजाम गर्नु हाम्रो रहर होइन । बाध्यता हो । जनताको माग हो । सिद्धीशाहीका ठेकेदार दीपेन्द्र शाही र मैनाचुलीका ठेकेदार मदन अधिकारीलाई तत्काल पक्राउगरी अड्डासार गर्दै ल्याएर कानूनी कारबाही गरियोस् । आगामी दिनमा फेरि यसरी आन्दोलन गर्न बाध्य नबनाइयोस् । यदि, हप्ता दिनभित्र कारबाही नभएको खण्डमा थप आन्दोलन चर्काउनेछौँ ।”

    महुरेदेखि राजापानीको सिमपानीसम्म २२ किलोमिटर भारत कन्ट्रक्सन÷सिद्धीशाही जेभी र राजापानीको सिमपानीदेखि फोक्सिङटारसम्म २६ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का देवनारायण पवन मैनाचुली खम्पाचे जेभीले लिएको थियो । तर, दुवै प्याकेजमा कालोपत्रे गर्नुको सट्टा सडकको हालत बनाएर ठेकेदारहरु निर्माणस्थलमा प्रयोग गरिएका उपकरणसहित गत माघ–४ गतेदेखि सम्पर्क विहीन भएपछि स्थानीय नागरिकसहितको उपस्थितिमा चक्काजाम गर्नुपरेको सांसद राईले बताए । अब जेठको पहिलो साताभित्र कालोपत्रेको काम सुरु नभए गाउँगाउँबाट मान्छे उतारेर राष्ट्रिय राजमार्ग नै अनिश्चितकालिन बन्द गरिने सांसद राईले चेतावानी दिएका छन् । 

    मैनाचुलीले पनि चार वर्षमा कालोपत्रे सम्पन्न गर्ने भनि सडक विभागसँग २०७३ साउन ११ गते सम्झौता गरेको थियो । ५५ करोड ८७ लाखमा सम्झौता गरेको मैनाचुलीले २०७७ साउन १० गते कालोपत्रेको काम सक्नुपर्ने थियो । तर, हालसम्म कालोपत्रेको प्रगति शुन्य रहेको दिक्तेल–गाईघाट सडक विभागका योजना प्रमुख गोपाल खकुरेलले बताए । खकुरेलका अनुसार सिद्धीशाहीको आगामी असारसम्म म्याद छ । मैनाचुली भने प्रक्रियामा नआएपछि म्याद गुज्रिएको छ । 

    ठेकेदारले काम नगरेपछि सिद्धीशाहीबाट ६ करोड र मैनाचुलीबाट ४ करोड मोविलाइजेसन पेश्की तथा १ करोड ब्याज तानिएको दिक्तेल–गाईघाट सडक विभागका योजना प्रमुख खकुरेलले बताए ।  मैनाचुलीको ठेक्का तोडिए पनि अदालतले अन्तरिम आदेश दिएको थियो । सिद्धीशाहीले साउनसम्म काम नगरे उसको पनि ठेक्का तोडिने सडक विभागका योजना प्रमुख खकुरेलको भनाइछ । 

     

    प्रकाशित मिति :बैशाख १७, २०८० आइतवार - २०:१३:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको