खोटाङ । खोटाङ कलाकार समाजले गायन र नृत्यतर्फ आयोजना गरेको ‘पालिका प्रतिभा २०८०’ बाट उत्कृष्ट २० जना छनौट भएका छन्। ५ बैशाखदेखि १९ बैशाखसम्म दश स्थानीय तहमा आयोजना गरिएको पालिका प्रतिभा खोजीबाट गायनतर्फ दश र नृत्यमा दशजना उत्कृष्ट छानिएका हुन्।
समाजले बुधबार दिक्तेलस्थित न्यु श्रेष्ठ होटलमा पत्रकार सम्मेलन गरेर पालिका प्रतिभामा छानिएका उत्कृष्टहरुको नाम सार्वजनिक गरेको छ।
पालिका प्रतिभा अन्र्तगतको गायनमा वराहपोखरी गाउँपालिकामा लक्ष्मण परियार, नृत्यमा सुवास विश्वकर्मा, जन्तेढुंगा गाउँपालिकामा गायनतर्फ दुर्गा राई, नृत्यमा करुणा राई, खोटेहाङ गाउँपालिकामा गायनतर्फ विकास राई, नृत्यमा कविता श्रेष्ठ, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा गायनमा दिलीप राई र नृत्यमा मनिता राई छनौट भएका छन्।
केपिलासगढी गाउँपालिकामा गायनमा राजेश राई, नृत्यमा सौलिना तामाङ, ऐसेलुखर्क गाउँपालिकामा गायनतर्फ सुमन राई, नृत्यतर्फ सरिना राई, रावाबेंशी गाउँपालिकामा गायनमा ममता राई, नृत्यमा चिजन मगर, हलेसी तुवाचुङ नगरपालिकामा गायनमा अस्विन राई, नृत्यमा स्मृति राई (ए), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गायनमा प्रदीप राई, नृत्यमा सलिना भुजेल र साकेला गाउँपालिकामा गायनतर्फ रविन दियाली तथा नृत्यमा मेनुका राई उत्कृष्ट छानिएको खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिए।
समाजले दुई चरणको अडिसनबाट गायन र नृत्यमा तीनतीन जना पालिका प्रतिभा छनौट गरेको थियो। ‘खोटाङ प्रतिभा २०८०’ भदौमा उत्कृष्ट पालिका प्रतिभालाई ४ भदौमा काठमाण्डौमा ‘खोटाङ प्रतिभा २०८०’ प्रतियोगितामा सहभागी गराई गायन र नृत्य विद्यामा एकएक जना खोटाङ प्रतिभा छनौट गरिने आयोजकले जनाएको छ।
पालिका प्रतिभाको दुबै विद्यामा दोश्रो र तेश्रो भएकाहरुलाई सामूहिक प्रस्तुती गर्न लगाईनेछ। खोटाङ प्रतिभा दाबेदारीका लागि छनौट भएकाहरुलाई खोटाङबाट काठमाण्डौ जान, खानबस्न र महिना दिन वर्कसप चलाउने जस्ता सबै व्यवस्थापन आयोजकले गर्ने अध्यक्ष राईले बताए।
व्यवस्थापकीय पाटो र राष्ट्रिय स्तरमै कार्यक्रमको सन्देश दिनुपर्ने हुनाले खोटाङ प्रतिभा छनौट कार्यक्रम काठमाण्डौमा गर्ने योजना बनाईएको अध्यक्ष राईको भनाई छ। खोटाङ प्रतिभा बन्नेलाई सहयोग जुटे वापत पुरस्कार निर्धारण गरिने समाजका महासचिव पार्वन राईले बताए । त्यसका लागि समाज आर्थिक संकलनमा जोडदार लाग्ने उनको भनाई छ।