खोटाङ । आगामी ५ वर्षभित्र समृद्ध गाउँपालिका बनाउने लक्ष्यका साथ आवधिक योजना निर्माणमा जुटेको खोटाङको साकेला गाउँपालिकाले काठमाडौमा उपत्यकामा रहेका विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार आवधिक योजना निर्माणमा जुटेको पालिकाले आवधिक योजना प्रभावकारी र दीर्घकालीन महत्वको बनाउन साकेलामा जन्मेर राज्यको विभिन्न तह र तप्कामा क्रियासिल विशिष्ट व्यक्तित्वहरुसँग शनिबार होटल कुटुम्ब ललितपुरमा विशिष्ट व्यक्तित्वहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागीहरुले पालिकाले निर्माण गर्न लागेको आवधिक योजनामा दिगो सडक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिन लागि सुझाव दिएको डिएम चाम्लिङले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईको अध्यक्षता तथा महालेखा परीक्षक टंकमणी शर्माको प्रमुख आथित्यतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य रामकुमार राई ‘पासाङ’, पूर्व सचिव सागरकुमार राई, प्रदेश मुख्य न्यायधिवक्ता परिवर्तन राई, पूर्व सहसचिव बिजेन्द्र राई, उपसचिव कृष्णबहादुर कटवाल, उपसचिव शशी राई, उपप्राध्यापक यादेवी ढकाल, शाखा अधिकृतहरु जयकला राई, प्रतिज्ञा राई, इन्जिनियर रविन्द्र राई, साकेला गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, सामाजिक विकास अधिकृत दुर्गाबहादुर राई लगायत साकेलाबासी नागरिकहरुको सहभागिता रहेको थियो ।
सबै क्षेत्र र तहतप्काको अनुभव र ज्ञानलाई समेटेर गाउँपालिकाको भविष्य उज्वल बनाउन यस्तो गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । आवधिक योजना निर्माणका लागि पालिकाले यसअघि वडास्तरीय छलफल गर्नुका साथै योजना तर्जुमा सम्बन्धी अभिभुखिकरण कार्यक्रम सञ्चालन गरिसकेको छ ।
आवधिक योजना बनाउने काममा ‘सेन्टर फर सस्टेनेवल डेभलपमेन्ट स्टडिज प्रालि (सिडिएस) ले प्राविधिक सहयोग गरिरहेको छ । आवधिक योजना निर्माणका लागि गाउँपालिका अध्यक्ष संयोजक तथा उपाध्यक्ष सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव रहेको ३ सदस्यीय ‘आवधिक योजना निर्माण निर्देशक समिति’ गठन गरिएको छ भने समितिलाई सहयोग गर्न विभिन्न विषयगत समिति संयोजकहरु सदस्य रहेको छुट्टै संयन्त्र पनि निर्माण भईसकेको छ ।