साकेला । खोटाङको साकेला गाउँपालिकाले महिला कृषक समूहलाई वीउपूँजी अनुदान रकम हस्तान्तरण गरेको छ । पालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमको वीउपूँजी अनुदान कार्यक्रम अन्तर्गत सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले संयुक्त रुपमा समावेशी महिला कृषक समूह साकेला-४ मात्तिमका अध्यक्ष सरिता राईलाई ६ लाख २५ हजार रुपैंया रकम हस्तान्तरण गरेका हुन् ।
यसरी वितरण गरिएको रकमबाट समूहमा आवद्ध २५ जना महिला सदस्यलाई जनही २५ हजार रुपैंयाका दरले व्यवसायिक कार्यका लागि वीउपूँजी रकम उपलब्ध हुनेछ । समुहले प्राप्त गर्ने वीउपूँजी अनुदानबाट बाख्रा, तरकारी खेती लगायत व्यवसायमा सदस्यहरुले लगानी गरि वार्षिक रुपमा उक्त वीउपूँजीलाई वृद्धि गर्दै व्यवसायिक बनाउनका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष राईको भनाइछ ।
गाउँपालिका अध्यक्ष राईले भने- नागरिकले गरेको अपेक्षालाई हामीले कहिल्यै कुल्चेर हिडेका छैनौं, नागरिकले सजाएको विकास र समृद्धिको सपनालाई पुरा गर्न हामीले बोलेका र प्रतिवद्धता गरेका कुराहरु पुरा गर्दै जान्छौं । अहिलेसम्म हामीले विकासका कार्यसँगै नीतिनियम, ऐन तथा नियमावलीहरु निर्माणलाई समय खर्चिरहेका छौं, समग्र पालिकाको विकास र परिवर्तनका लागि न्यायपूर्ण कार्य गर्न प्रयत्नशिल छौं।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाले विपन्न सुनौलो हजार दिनको आमा तथा किशीरीहरुको आयआर्जन सुधार गरि पोषणमा सुधार गराउने उद्धेश्यका साथ महिला समूहहरुको लागि प्रस्ताव आह्वान गरेको थियो ।
गाउँपालिका भरिका ८ वटा महिला समूहहरुबाट प्रस्तावपत्र आएकोमा समावेशी महिला कृषक समूह साकेला-४ सबैभन्दा उत्कृष्ट समूह छनौट भएको थियो । यसरी छनौट भएको समूहले एक वर्षभित्र समूहलाई सहकारीमा रुपान्तरण गर्नुपर्ने प्रावधान रहेको बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक नविन कुमार राईले बताए ।