खोटाङ । खोटाङको रावा बेसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका खोप उमेर समुहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई सोमबार पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशूल्क प्रदान गर्ने सबै मात्रा खोप रावा बेसी गाउँपालिकाका बालबालिकाले लगाएका छन् । २०७९ वैशाखदेखि ०८० वैशाखसम्म १५ महिनासम्मका १ सय ९१ जना बालबालिकाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताए ।
गत फागुनमा गरिएको घर सर्वेक्षणमा १६ देखि ५९ महिनाको ४८१ जना बालबालिकाले सबै मात्रा खोप लगाएको पाइएको थियो । एउटा खोप छुटेको ३ जना बालबालिका भेटिएका थिए । उनिहरुलाई पनि खोप लगाएपछि रावा बेसी गाउँपालिका भित्रका सबै बालबालिकाले पुर्ण मात्रा खोप लगाएको संयोजक अधिकारीको भनाइ छ ।
गाउँपालिका भित्रका सबै बालबालिकाले खोप लगाएको सुनिश्चितता भएपछि स्वास्थ्य कार्यालय खोटाङले रावा बेसीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको हो । यस्तै, आगामि वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने, कसैलाई नछुटाउने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको छ ।
गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता कार्यक्रमलाई सफल बनाउन योगदान पु¥याएकोमा सबै स्वास्थ्य सस्थालाई कदरपत्रले सम्मान गरिएको छ ।
गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको पूर्ण खोप कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कौशिला कुमारी गुरुङ, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देल, पालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।
खोटाङलाई २०७४ पुस १४ गते ३१ औं पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । ७४ पश्चात हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिदै आएको छ । यो वर्ष हालसम्म रावा बेसी गाउँपालिकासँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकाले सुनिश्चितता पालिका घोषणा गरिसकेका छन् ।