खोटाङ । दोहोरो नागरिकताको प्रमाण–पत्र लिएको अभियोगमा एक युवा पक्राउ परेका छन् । दोहोरो नागरिकता लिएको अभियोगमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–९ उँबुका रोशन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
आरोपितले २०७४ साउन २ गते मानेभञ्ज्याङ गाउँपालिका–३ ठेगाना कायम गरी १३–०१–७४–०१०९७ नम्बर र २०७८ चैत १३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा ठेगाना कायम गरी १२–०१–७८–०५९०४ नम्बरको नागरिकता लिएको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट लिएको नागरिकता प्रमाण–पत्रमा उनको जन्म मिति २०५७ माघ २० गते र जिल्ला प्रशासन कार्यालय खोटाङबाट लिएको नागरिकतामा जन्म मिति २०६० जेठ ७ गते उल्लेख छ ।
दोहोरो नागरिकता लिएको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए । आरोपितको एसइईको प्रमाण–पत्र समेत नक्कली भएको खुलेको प्रहरीले जनाएको छ । राईले दोहोरो नागरिकता लिएको विवरण खुलाएर जिल्ला प्रशासन कार्यालय खोटाङले मंगलबार जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाइसकेको छ ।