खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिपिएस ट्रयाकिङ सिस्टम जडित एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको छ । नगरभित्रका नागरिकलाई स्वास्थ्य चौकीसम्म तथा जिल्ला बाहिर उपचारमा जान आउन सहज बनाउने उद्देश्यले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले वर्गीकरण गरे अनुसारको आवश्यक उपकरण र औषधिसहित ‘ख’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले ‘ख’ वर्गको एम्बुलेन्समा आवश्यक उपकरण र औषधि हुनुपर्ने व्यवस्था गरेको छ । त्यही अनुसार २२ वटा उपकरण जडित र जिपिएस ट्रयाकिङ सिस्टम भएको एम्बुलेन्स २७ जेठबाट शुभारम्भ गर्ने तयारी गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए ।
घिमिरेका अनुसार जिपिएस ट्रयाकिङ सिस्टम भएकाले एम्बुलेन्स कहाँ छ, कहाँ रनिङ गरिरहेको छ भन्ने नगरपालिकाबाटै ट्रयाकिङ गर्न सकिनेछ । यसले गर्दा दुरुपयोग हुन पाउने छैन । हाललाई एम्बुलेन्सले सुत्केरी महिलालाई निशुल्क सुविधा दिनेछ । अन्यका हकमा भने कार्य विधि बनाएर भाडादर तोकिने छ ।
एम्बुलेन्स खरीदका लागि नगरपालिकाले २० लाख १० हजारको टेण्डर आव्हान गरेको थियो । टेण्डर बाहेक जिपिएस ट्रयाकिङ सिस्टम जडान, एम्बुलेन्स पेन्टिङ र लेखनमा भएको सम्पूर्ण खर्चको विवरण एम्बुलेन्स शुभारम्भका दिन सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।
११ वडा रहेको नगरपालिकाभित्रका विरामीहरुले स्वास्थ्य चौकी तथा जिल्ला वाहिर जाँदा महंगो भाडा तिरेर जानुपर्ने बाध्यताको अन्त्य गर्न सुविधायुक्त एम्बुलेन्स खरीद गरिएको नगरप्रमुख बिमला राईले बताईन् । नगरप्रमुख राईका अनुसार सबै वडामा एम्बुलेन्स चल्न सक्ने सडक भए पनि ति सडकहरुको स्तरोन्नती गरिदै जानेछ । जसका कारण एम्बुलेन्स अझै सहज तरिकाले चलाउन सकिनेछ ।
यसैविच, हलेसी तुवाचुङ नगरपालिकाले २७ जेठबाट स्वास्थ्य चौकी दुर्छिमलाई प्रथम विन्दु बनाएर लागू हुनेगरी स्वास्थ्य बिमा उपचारको शुभारम्भ गर्ने भएको छ । यसअघिसम्म स्वास्थ्य बिमा गराएकाले जिल्ला अस्पताल दिक्तेलमा गएर सेवा लिनुपर्ने हुन्थ्यो । अब भने, हलेसी तुवाचुङ नगरपालिकाभित्रका स्वास्थ्य बिमा गरेकाले दुर्छिम स्वास्थ्य चौकीबाटै सेवा लिन पाउनेछन् ।