खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाभित्रका स्वास्थ्य बीमा गरेका सेवाग्राहीले जिल्ला अस्पताल दिक्तेल पुगेर मात्रै सेवा लिनुपर्ने बाध्यता हटेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार स्वास्थ्य बीमा गरेका व्यक्तिहरुले स्वास्थ्य चौकी दुर्छिमबाटै प्रथम सेवा विन्दु स्वरुप पाउने सम्पूर्ण सेवा सुविधा लिने व्यवस्था हलेसी तुवाचुङ नगरपालिकाले मिलाईदिए पछि जिल्ला अस्पताल पुगिरहनु पर्ने झन्झट सकिएको हो ।
यसअघिसम्म स्वास्थ्य बीमा गरेकाहरुले ४०० सम्म गाडी भाडा तिरेर करीव दुई घण्टा लामो यात्रापछि जिल्ला अस्पताल दिक्तेल पुगेर सेवा लिनु परिरहेको थियो । तर, स्थानीय सरकारले नागरिकप्रति आफ्नो उत्तरदायित्य देखाउँदै आफ्नै गाउँठाउँको स्वास्थ्य चौकीबाट स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सुरु गरिदिएपछि नागरिकहरु खुशी भएका छन् । उत्साहित देखिएका छन् ।
एक परिवारको ५ जनाले तीन हजार पाँच सयमा स्वास्थ्य बीमा गरेर वर्षदिनसम्म १ लाखसम्मको उपचार सेवा लिन पाउने प्रावधान छ । तर, हलेसी भेगका जनताले त्यही बीमाको सेवा लिनलाई लामो दुरीमा ओहोरदोहोर गर्दा आर्थिक भार बढेकाले जोडबल गरेरै दुर्छिम स्वास्थ्य चौकीमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सुरु गर्न सफल भईएको नगरप्रमुख बिमला राईले बताईन् । स्वास्थ्य क्षेत्रमा आफ्ना जनताले पाएको दुःखलाई हरण गर्न दुर्छिमबाटै स्वास्थ्य बीमाको उपचार तथा सेवा सुविधा सुभारम्भ गरिएको नगरप्रमुख राईको भनाई छ ।
दुर्छिम स्वास्थ्य चौकीबाट बीमाको प्रथम सेवा विन्दु उपचार सुरु भयो । अब, नगरपालिकाभित्र स्वास्थ्य बीमा गरेका ८ हजार ४२५ जनाले यहिबाट उपचार र रिफरको कागजात सजिलै पाउने नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए । घिमिरेका अनुसार चालू आर्थिक वर्षमा नगरपालिकाले बिधुर र अभिभावक गुमाएका बालबालिका गरी १२० जनाको निशुल्क बीमा गरिदिएको छ ।
नगरपालिकाको ठूलो जोडबलपछि स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुको शनिबार नगरपालिकाको प्राङगणमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईले दिप प्रज्ज्वलन र व्यानर बाचन गरेर उद्घाटन गरेका हुन् । नगरप्रमसख राईको अध्यक्षतामा भएको बीमा तथा एम्बुलेन्स सुभारम्भ कार्यक्रममा जिसस प्रमख राई, उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेडाई, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कैलाशबहादुर ठकुराठी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुन्यप्रसाद सिग्देल लगायतको उपस्थिति थियो ।
खोटाङमा अस्पतालको हकमा जिल्ला अस्पताल तथा चिसापानी प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा प्रथम सेवा विन्दु भएर स्वास्थ्य बीमाको उपचार सेवा चलिरहेको छ । दुर्छिम स्वास्थ्य चौकीबाट बीमाको प्रथम सेवा विन्दु सुरु भएपछि जिल्लाको चार स्थानबाट सेवा लिन सकिने भएको छ ।
जेठ २५ गतेसम्म जिल्लाभर ५४ हजार ६८२ जनाले बीमा गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १६ हजार ३९२, हलेसी तुवाचुङ नगरपालिकामा ८ हजार ४२५, खोटेहाङ गाउँपालिकामा ४ हजार ७९३, केपिलासगढी गाउँपालिकामा २ हजार ९७६, ऐसेलुखर्क गाउँपालिकामा ३ हजार १५८, रावाबेशी गाउँपालिकामा ३ हजार १२, साकेला गाउाँपलिकामा २ हजार ५३३, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ४ हजार ५३६, जन्तेढुंगा गाउँपालिकामा ३ हजार ७०० र वराहापोखरी गाउँपालिकामा ५ हजार १५७ जनाले स्वास्थ्य बीमा गरेका छन् ।