विश्व विद्यालय अनुदान आयोगले क्यूएए प्राप्त गर्न लागि परेको खोटाङको दिक्तेल बहुमुखी क्याम्पसमा फाइनल एसेसमेन्ट सुरु गरेको छ । क्यूएए प्राप्तिका लागि २०७१ सालदेखि प्रयास थालेको दिक्तेल बहुमुखी क्याम्पसमा विश्व विद्यालय अनुदान आयोग इजुकेसनल क्वालिटी एसुरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यु टिमले जेठ २८ गतेदेखि फाइनल एसेसमेन्ट सुरु गरेको हो ।
प्राध्यपक डा. बासुदेब काफ्ले, प्राध्यपक डा. तारा चित्रकार र इजुकेसनल क्वालिटी एसुरेन्स एण्ड एक्रेडिटेसन काउन्सिलका सदस्य सचिव संविदा पाठकको टोलीले क्याम्पस क्यूएए प्राप्तिका लागि योग्य भए नभएको विषयमा पियर रिभ्यु सुरु गरेको हो । पियर रिभ्यु टिमले असार १ गतेसम्म फाइनल एसेसमेन्ट गरेर विश्व विद्यालय अनुदान आयोग समक्ष क्यूएए सम्वन्धी प्रतिबेदन पेश गर्नेछन् । २०३७ सालमा स्थापना गरिएको क्याम्पसले क्यूएए प्राप्त गरेपछि उच्च शिक्षाका लागि न्युनतम मापदण्ड पुरा गरेको सर्टिफिकेट प्राप्त गर्ने दिक्तेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हिराकुमार राईले बताए ।
हामी ढिलोचाँडो क्यूएए प्राप्त गर्ने चरणमा पुगेका छौँ । क्यूएएमा गएपछि क्याम्पस उच्च शिक्षा प्रदान गर्न योग्य पूष्टि हुन्छ, क्याम्पस प्रमुख राईले भने, यसले गुणस्तर सुनिश्चितता गर्छ ।
विद्यार्थीले थप क्वालिटीको इजुकेसन प्राप्त गर्ने वातावरण बन्छ । काठमाडौंबाट आएको पियर रिभ्यु टिमले दिक्तेल क्याम्पसमा जेठ २८ गते तयारी बैठक गरेको थियो । जेठ २९ गते पिअर रिभ्यू टिम सामु क्याम्पसको बारेमा संक्षिप्त प्रस्तुतीसँगै स्वमुल्यांकन टिम (स्याट) का संयोजकले आफ्नो प्रस्तुती राखेका थिए । त्यसपछि पियर रिभ्यु टिमले सञ्चालक समिति, शिक्षक र अनुसन्धान व्यवस्थापन समितिसँग छुट्टाछुट्टै छलफल गरेको थियो ।
यस्तै, जेठ ३० गते समुदाय, अभिभावक, पूर्वविद्यार्थी, रोजगारदाता, स्टुडेण्ट क्वालिटी सर्कल, संयुक्त शिक्षण समितिका अध्यक्ष, विषयगत समितिका अध्यक्ष र कर्मचारीसँग छलफल गरेको थियो । सोही अवसरमा आन्तरिक गुणस्तर सुनिश्चितता समिति र स्वमुल्यांकन टिमले क्याम्पसका बारेमा विस्तृत जानकारी गराएको थियो भने पियर रिभ्यू टिमले उपलव्ध कागजातका आधारमा त्यसको भेरिफाइ गरेका थिए ।
जेठ ३१ गते क्याम्पस प्रमुख र सञ्चालक समितिका अध्यक्षसँग छलफल गरेपछि टिमले मार्किङ रिपोर्टलाई टुंग्याएर ड्राफ्ट तयार गर्नेछन् । असार १ गते पियर रिभ्यू टिमका संयोजक प्राध्यपक डा. काफ्लेले तयारी रिपोर्ट प्रस्तुत गर्ने र अन्तिममा पियर रिभ्यू टिम र क्याम्पसबीचमा हस्ताक्षर हुनेछ ।
पियर रिभ्यू टिमले रिकमेन्ड गरेका विषयलाई सच्याइने क्याम्पस प्रमुख राईले बताए । क्यूएए प्राप्तिका लागि २०७१ सालमा प्रकृया अघि बढाएको क्याम्पसले २०७६ सालमा स्वअध्ययन प्रतिबेदन बुझाएको थियो । तर कोभिड १९ का कारण २०७८ मा मात्रै पियर रिभ्यू टिम भिजिटमा आएको थियो ।