खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । जन्मिएदेखि २३ महिनासम्मका सबै बालबालिकालाई नेपाल सरकारले तोकेको १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुश्निचितता गाउँपालिका घोषणा गरिएको हो ।

सात वटा वडा रहेको गाउँपालिकाका ०–१५ महिनाका जम्मा २९० बालबालिका तथा १६–२३ महिनासम्मका १४३ बालबालिका रहेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणासभामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वम्सेविकालाई सम्मान तथा घोषणासभाका अध्यक्ष एवम् गाउँपालिका प्रमुख, प्रमुख अतिथि लागायत सहभागीहरुले पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरेका छन् ।

गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगाल, नेपाली काँग्रेसका नेता केशवराज कार्की, गाउँपालिका उपप्रमुख अरुणा थापामगर, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पुण्यप्रसाद सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लाका अन्य स्थानीय तहले यसअघि नै आ–आफ्नो पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकेका छन् भने जिल्ला घोषणा असार २३ गते गरिने मिति तय भएको छ ।
