• ट्रेण्डिङ:

दिक्तेल नगरपालिकाले रोप्यो  १५ हजार फूलका विरुवा

दिक्तेल नगरपालिकाले रोप्यो  १५ हजार फूलका विरुवा

रोदिक खबर

१४, श्रावण २०८०
  • 12.6K
    SHARES
  • दिक्तेल नगरपालिकाले रोप्यो  १५ हजार फूलका विरुवा

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा फूलका विरुवाहरु रोपेकोे छ । मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउने नगरपालिकाको अभियान अन्तरगत नगरपालिकाले मझुवागढी क्षेत्रमा शनिबार जनश्रमदानमार्फत १५ हजार फूलका विरुवा रोपिएको नगरपालिकाले जनाएको छ । 

    करिब अढाइ सयको उपस्थितिमा दिक्तेल बजारको हाडडाँडादेखि कालिका भगवती मन्दिर परिसरसम्म फूलका बिरुवा रोपिएको छ । मझुवागढीको माथिल्लो क्षेत्रसम्म पुग्नको लागि हाडडाँडाबाट निर्माण गरिएको सिढीको वरिपरि हुँदै मन्दिर एवं गुफाको परिसरमा १५ प्रजातिका फूलका विरुवाहरु रोपिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    अभियान अन्तरगत अघिल्लो वर्ष पनि केही बिरुवाहरु रोपिएका थिए । नगरपालिकाले नीति तथा कार्यक्रममै समावेश गरेर अघिल्लो वर्ष केही बिरुवा रोपे पनि पूर्ण तयारी नपुग्दा संरक्षण गर्न नसकिएको नगरप्रमुख भट्टराईले बताए । यस वर्ष दुई जना कर्मचारी नै राखेर फूलको संरक्षण गरिने नगरप्रमुख भट्टराईको भनाइ छ । केही समय पश्चात दिक्तेल बजारबाट ढकमक्क फूल फुलेको देख्न सकिने गरी काम अघि बढाइएको उनले बताए । त्यस क्षेत्रका जग्गादातासँगको समझदारीमा फूलको पहाड बनाउने अभियान सुरु गरिएको उनको भनाइ छ । 

    श्रमदानमा जिल्ला समन्वय समिति र नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकासँगै विभिन्न कार्यालयका कर्मचारी, उद्योग वाणिज्य संघ, सशस्त्र प्रहरी, नेत्र ज्यति संघ, सुभद्रा मदन फाउण्डेसन, आमा समुह, टोल सुधार समिति  लगायत उपस्थिति रहेको थियो । मझुवागढी क्षेत्रलाई फूलको पहाड बनाउन उपस्थित व्यक्तिहरु खन्न र बिरुवा रोप्न उत्सुक देखिएका थिए । 
    विभिन्न संघ संस्था, व्यक्तिहरु मार्फत जिल्लाका विभिन्न ठाउँबाट फूलका बिरुवा संकलन गरिएको नगरपालिकाले जनाएको छ । 

    चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले मझुवागढी क्षेत्रको सौन्दर्यकरण लागि १ करोड ५३ लाख बजेटसमेत विनियोजन गरेको छ । अब चाडै डिपिआर निमार्ण गरेर त्यस क्षेत्रको सौन्दर्य गरिने नगरप्रमुख भट्टराईले बताए । 

    प्रकाशित मिति :श्रावण १४, २०८० आइतवार - १०:०७:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको