आर्थिक मन्दीका कारण खोटाङको राजस्व संकलन प्रभावित भएको छ । घरेलु तथा साना उद्योग कार्यालय खोटाङले अघिल्लो आर्थिक वर्षमा ३१ लाख रुपैयाँ राजस्व असुल गरेको थियो । तर गत आर्थिक वर्षमा २५ लाख ७० हजार रुपैयाँ मात्रै राजस्व असुली भएको छ जुन अघिल्लो आवको भन्दा ६ लाख ७० हजार रपैयाँ कम हो।
मुलुकको पछिल्लो आर्थिक मन्दीको कारण साना उद्योगमा असर परेको घरेलु तथा साना उद्योग कार्यालय खोटाङका लेखापाल प्रेम राई बताउँछन् । तर खोटाङमा उद्योग दर्ता भने बढेको छ । जिल्लामा आव २०७९/८० मा ३२१ उद्योग दर्ता भएका छन् । अघिल्लो वर्षको तुलनामा यो संख्या ७८ ले बढी हो ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा २४३ उद्योग दर्ता भएका थिए । आर्थिक वर्ष २०७९ र ८० मा सबै भन्दा बढी कृषि तथा वन पैदावार उद्योग दर्ता भएका छन् । यो उत्पादनमुलक २३ वटा कृषि तथा वनजन्यमा २३४ र सेवामुलक ६४ वटा रहेका छन् । वैदेशिक रोजगारबाट फर्किएका युवा पशुपालनतर्फ आकर्षित भएका छन् । यसले कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता बढेको छ ।
कृषि तथा वन्यजन्तु, दूध डेरी, गाईपालन, बाखपालन, कुखुरापालन मौरी पालन, माछापालन, तरकारी खेतीतर्फ आकर्षण बढेको छ। आर्थिक वर्ष २०७८ र ०७९ मा ५५ उद्योग नविकरण भएका छन् । २०७१ र ८० सम्म नविकरण भएका उद्योगको संख्या ७९ रहेका छन्। १३ उद्योगले नामसारी गरेका छन् ।
जिल्लामा वढी पुँजी भएका ९ उद्योग रहेका छन् । जसमा २० देखि ५० लाखसम्मका ६ वटा ५० लाखदेखि एक करोड रुपैयाँसम्मका ३ वटा पुँजी भएका उद्योग रहेका छन् ।
घरेलु तथा साना उद्योगमा १ लाखदेखि ५ लाख पुँजी भएका उद्योगलाई दुई हजार १००, ५ लाख देखि २० लाख रुपैयाँसम्म पुँजी भएका उद्योगलाई ४ हजार १०० २० लाखदेखि ५० लाख रुपैयासम्म पुँजी भएका उद्योगलाई ६ हजार १०० ५० लाखदेखि एक करोड़ पुँजी भएका उद्योगलाई १५ हजार १०० रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने व्यवस्था छ।
जिल्लामा होटल व्यवसायीको हालत पनि उस्तै रहेको छ । भाडा तिर्नसम्म कठिन भएको कारण व्याज तिर्न नसेकेको होटल सगरमाथाका सञ्चालक युवराज लुइटेल बताउँछन् ।
अनुदाका लागि मात्र उद्योग दर्ता रोजगारी सृजना, आर्थिक आम्दानी उत्पादन वृद्धि र कच्चा पदार्थ प्रशोधन गर्नुभन्दा पनि सरकारी अनुदान तथा सहुलियत पाउनका लागि मात्र उद्योग दर्ता गरेका कारण खोटाको औद्योगिकरण बढ्न सकेको छैन।
उद्योग दर्ताको पहिलो उद्देश्य उत्पादन वृद्धि र रोजगारी सृजना हो । बढ्दो बेरोजगारीलाई कम गर्न आयात प्रतिस्थापन, कच्चा पर्दाथको प्रशोधन तथा उत्पादन वृद्धिका लागि खोटाङ उद्योग कलकारखाना आवश्यक पर्छ।
जिल्लामा निर्वाहमुखी नाफामुखी, व्यवसायमैत्री र उत्पादनमुखी भन्दा अनुदानमुखी उद्योग बढी छन् । अनुदान लिनको लागि मात्रै उद्योग दर्ता गर्ने चलन भएको छ। अनुदान सकिएसँगै उद्योग बन्द गर्ने प्रवृत्ति पछिल्लो समय बढेको छ। खोटाडमा हालसम्म ५ हजार ५६८ उद्योग दर्ता भएका छन् ।
अनुदान लिन वर्षेनि दर्ता हुने उद्योगको संख्या बढेपनि उत्पादन वृद्धि, फलफूल, तरकारी, जडिवुटी, रैथाने वाली प्रशोधन हुन सकेको छैन् अनुदानमुखी उद्योग एउटै घर परिवारमा फरक नाममा रहेका छन् । छोरा बुहारीसम्ममा उद्योग दर्ता गरेर अनुदान लिने गरेको गुनासो आउने गरेको घरेलु तथा साना उद्योग लेखापाल राई बताउँछन् ।
रोजगारी सृजना, आर्थिक आम्दानी उत्पादन वृद्धि र कच्चा पदार्थ प्रशोधन गर्नुभन्दा पनि सरकारी अनुदान तथा सहुलियत पाउनका लागि मात्रै उद्योग दर्ता गरेका कारण खोटाङको औद्योगिकरण बढ्न सकेको छैन। स्थानीय तह र प्रदेश सरकारको कृषि अनुदान, सहुलियत कर्जा पाउनका लागि मात्रै उद्योग दर्ता गर्ने गलत प्रवृत्ति मौलाएपछि खोटाङमा गुणात्मकभन्दा संख्यात्मक रुपमा मात्र उद्योग बढेका छन् ।