खोटाङ । खोटाङको साकेला गाउँपालिकालाई वातावरणमैत्री एवम् हरित गाउँपालिका बनाउन वृक्षरोपण अभियान शुरु गरिएको छ । गाउँपालिकाले शुरु गरेको अभियान अन्तरगत सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्यालय, धार्मिकस्थलहरु लगायत सार्वजनिकस्थलमा विभिन्न प्रजातिका मौसम अनुकूल बिरुवा रोप्ने काम धमाधम भइरहेको छ ।
गाउँपालिकाको अभियान अन्तरगत वडा नं.–२ रतन्छास्थित साकेला पार्क (उद्यान) मा विभिन्न प्रजातिका करिब दुई बिरुवा रोपिएको छ । साकेला थान वरिपरी र साकेला पार्कभित्र पारिजात, अशोक, गुल्मर, कल्की लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राई जानकारी दिए। वृक्षरोपण अभियानमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको थियो ।
गाउँपालिकाले शुरु गरेको वृक्षरोपण अभियानमा गाउँपालिका प्रमुख रविप्रकाश राई र उपप्रमुख बिर्सिका राई स्वयम् उपस्थित भएर वृक्षरोपण गर्नाले स्थानीय बासिन्दासमेत उत्साहित बनेका छन् ।
आफ्नो कार्यकालमा गाउँपालिकाभित्रका सडक किनारा, विद्यालय तथा कार्यालय परिसर, धार्मिकस्थलहरुमा २५ हजार बिरुवा रोप्ने घोषणा गरेअनुसार वृक्षरोपण अभियान सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए। गत वर्ष गाउँपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका सात फूल तथा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो ।
यस वर्ष साप्सुखोला–मानेभञ्ज्याङ–तावाभञ्ज्याङ सडक किनारामा सात हजार बिरुवा रोप्ने तयारी भइरहेको छ”, उनले भने, “मौषम र भूगोल सुहाउँदो लाली गुराँस, अशोक, निल्मर, गुल्मर, कल्की, पारिजात, क्रिशमस ट्री लगायतका बिरुवाहरु सडक किनारा, कार्यालय परिसर, विभिन्न बजार क्षेत्र, सार्वजनिक क्षेत्रहरुमा भौगोलिक बनावट अनुसार हावापानी सुहाउँदो फलफूलजन्य र भू–क्षयलाई नियन्त्रण गर्ने जैविक प्रकृतिका बिरुवा रोप्ने योजना बनाएका छौँ । यसले गाउँपालिकालाई वातावरणमैत्री एवम् हरित पालिका बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।