• ट्रेण्डिङ:

शिक्षकहरुद्वारा शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा तीन घण्टा धर्ना

शिक्षकहरुद्वारा शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा तीन घण्टा धर्ना

रोदिक खबर

३०, श्रावण २०८०
  • 8.6K
    SHARES
  • शिक्षकहरुद्वारा शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा तीन घण्टा धर्ना

    खोटाङका शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाइ खोटाङमा तीन घण्टा धर्ना दिएका छन् । सरकारबाट संघीय संसदमा पेस गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरूको सही सम्बोधन नभएको भन्दै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रममा ऐक्यबद्धता जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, राष्ट्रिय शिक्षक समाज र नेपाल विद्यालय कर्मचारी परिषदमा आवद्ध शिक्षकहरुले संयुक्त रुपमा तीन घण्टा धर्ना दिएका हुन् । 

    विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासंघबीच भएका ५१ र ३० बुँदे सहमति कार्यान्वयन र नयाँ शिक्षा ऐनमा शिक्षकका माग सम्बोधनका लागि दबाब दिन धर्ना दिइएको नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मीनकुमार दाहालले बताए ।

    अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने मुल नाराका साथ आन्दोलनमा उत्रिएका शिक्षकहरुले अहिले सार्वजनिक भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदामा रहेका केहि दफाहरु संविधान प्रदक्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमान खिलाफमा रहेको अध्यक्ष दाहालको भनाइ छ  ।

    मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन नगरेको शिक्षक नेताहरुले गुनासो गरेका छन् ।

    यसैगरी २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने माग पनि मस्यौदामा नसमेटेको बताएका छन् ।

    यस्तै शिक्षाको अधिकार स्थानीय तहको एकल अधिकार सूचीमा राख्न नहुने, विद्यालय स्थापना र सञ्चालनको अधिकार स्थानीय तहलाई दिए पनि अनुमति रद्द, बन्द र खारेज गर्ने अधिकार प्रदेशलाई दिनुपर्ने लगायतका माग अघि सारेका छन् । सरकारले विधेयक सच्याएर आफुहरुको माग पुरा गर्नुपर्ने उनिहरुको माग छ ।

    प्रकाशित मिति :श्रावण ३०, २०८० मंगलवार - १६:०२:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको