• ट्रेण्डिङ:

विद्यार्थीमा आँखा पाक्ने रोग देखिएपछि दुई विद्यालय बन्द

विद्यार्थीमा आँखा पाक्ने रोग देखिएपछि दुई विद्यालय बन्द

रोदिक खबर

३१, श्रावण २०८०
  • 12.8K
    SHARES
  • विद्यार्थीमा आँखा पाक्ने रोग देखिएपछि दुई विद्यालय बन्द

    खोटाङ । विद्यार्थीहरुमा आँखा पाक्ने (भाइरल कन्जंक्टिभाइटिस) रोग देखिएपछि सदरमुकाम दिक्तेलबजारका दुई निजी विद्यालय बन्द भएका छन् । विद्यार्थी बालबालिकामा आँखा पाक्ने रोगको संक्रमण देखिएपछि दिक्तेलस्थित माउण्ट एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल र अल्छेढुंगामा अवस्थित हिलसाईड स्याम्पल एकेडेमी बोर्डिङ स्कुल बन्द भएका हुन् ।

    माउण्ट एभरेष्टमा सुरुवातमा गत आइतबार १६ जना बालबालिकामा आँखा पाक्ने रोग देखिएको थियो । सोमबार बढेर ४५÷४६ जना बालबालिकामा आँखा पाक्ने रोग देखिएपछि मंगलबार मध्यान्ह १ बजेसम्म पठनपठान गराएर आआइतवारदेखि विद्यालय लाग्नेगरी नर्सरीदेखि कक्षा–१० सम्मको पठनपाठन वन्द गरिएको सञ्चालक समिति अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।

    आइतबारसम्म आँखा पाक्ने समस्या हल नभएमा आँखा अस्पताल दिक्तेलसँग सहकार्य गरेर विद्यार्थीहरुको उपचार गरिने श्रेष्ठको भनाई छ । यही बोर्डिङको बिहानी सत्रमा अध्ययनरत कक्षा–११ र कक्षा–१२ का विद्यार्थीमा यो समस्या नदेखिएकाले पठनपाठन भईरहेको छ । माउण्ट एभरेष्टमा करीव ८ विद्यार्थी अध्ययनरत छन् ।

    हिलसाईडमा आइतबार एकैचोटी १२ जना बालबालिकामा आँखा पाक्ने रोग देखिएपछि मंगलबार र बुधबार पठनपाठन बन्द गरिएको सञ्चालक समिति अध्यक्ष जलशेर राईले बताए । बिहीबारबाट पठनपाठन सुचारु गरिने र बालबालिकामा आँखा पाक्ने रोग नियन्त्रण तथा उपचारका लागि डाक्टरसँग सल्लाह र परामर्श गरिने राईको भनाई छ ।

    आँखा उपचार केन्द्रका अनुसार त्यहाँ अहिले दैनिक रुपमा १५÷२० जना आँखा पाक्ने रोगका बिरामी उपचारमा आउने गरेको छ । दिक्तेलबजारको सरस्वती माविमा पनि केही दिन अघिबाट दैनिक रुपमा ४÷५ जना विधार्थीमा आँखा पाक्ने रोग देखिरहेको प्रधानाध्यापक केशरकुमार राईले बताए।

    प्रअ राईका अनुसार बिहानीको प्रार्थनासभामा आँखा पाक्ने रोग लागेका विद्यार्थी भए नभएको सोधेर तथा कक्षाकोठामा शिक्षकले सोधेर त्यस्तो भेटिने वितिक्कै घर पठाईने गरेको छ । तत्काल विद्यालय बन्द गर्ने योजना नभएको प्रअ राईको भनाई छ ।

    पञ्च मावि दिक्तेलमा पनि केही दिन अघिबाट ५/६ जनामा आँखा पाक्ने रोग देखिएको छ । उनीहरुलाई ठिक नभएसम्म विद्यालय नआउन भनिएको विद्यालय श्रोतले जनाएको छ ।

    आँखा पाक्ने रोग नियन्त्रण तथा रोकथामका लागि आज (बुधबार) नगरपालिकाको शिक्षा र स्वास्थ्य शाखाले प्रअ तथा शिक्षकहरलाई बैठकमा बोलाएर निदानका उपायको विषयमा छलफल गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। दुई/तीन दिनबाट आवश्यकता अनुसार शिक्षा र स्वास्थ्यका टोली विद्यालय, विद्यालय गएर आँखा पाक्ने रोगको उपचार तथा रोकथाम गर्ने नगरप्रमुख भट्टराईको भनाई छ ।

    बैठकले आँखा पाक्ने केश धेरै बढेमा विद्यालय बन्द गर्ने, संक्रमित विद्यार्थीलाई घरमै बस्न लगाउने, विद्यालय र स्वास्थ्य संस्थामार्फत सचेतना कक्षाहरु सञ्चालन गर्ने, आँखा पाक्ने रोगबाट सुरक्षित हुन र संक्रमण फैलिन नदिन सबै विद्यालय र वडामा आजै पत्रचार गर्ने काम गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक खेमराज आचार्यले बताए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार भाइरल कन्जंक्टिभाइटिस रोग घरमै स्याहार गरे एकदेखि दुई हप्तामा आफै निको हुन्छ । घरमा स्याहार गर्दा बरफले आँखा सेक्दा आँखा बन्द गरेर वा सफा रुमालमा राखेर सेक्ने, आँखा नमिच्ने र आँखामा पानी नछ्याप्ने, आँखा छोईसकेपछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात हुने, प्रशस्त मात्रामा पानी र पोषिलो खाना खाने गर्नुपर्दछ ।

    घर बाहिर घाममा जाँदा कालो चस्मा प्रयोग गर्ने,संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना आदि हरेक दिन धुने वा सफा गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेको सामान अन्य व्यक्तिलाई प्रयोग गर्न नदिने गरेमा आँखा पाक्ने रोगबाट सुरक्षित हुन सकिन्छ ।

    स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभाबी औषधि प्रयोग नगर्न र दृष्टि कम हुने लगायत आँखा सम्बन्धि समस्या बढेमा उपचारका लागि तुरुन्त स्वास्थ्य संस्थामा जान मन्त्रालयले आग्रह गरेको छ ।

    प्रकाशित मिति :श्रावण ३१, २०८० बुधवार - १९:०५:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको