• ट्रेण्डिङ:

‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्वारा एक शिक्षकलाई पुरस्कृत तथा छ जनालाई सम्मान

‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्वारा एक शिक्षकलाई पुरस्कृत तथा छ जनालाई सम्मान

रोदिक खबर

५, भाद्र २०८०
  • 13.7K
    SHARES
  • ‘शुभशेर राई स्मृति प्रतिष्ठान’द्वारा एक शिक्षकलाई पुरस्कृत तथा छ जनालाई सम्मान

     खोटाङ, । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने जिल्लाका एकजना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ । ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ खोटाङले प्रदान गर्दै आएको ‘शुभशेर राई उत्कृष्ट शिक्षक पुरस्कार–२०८०’ बाट सरस्वती माध्यमिक विद्यालय अर्खौलेका शिक्षक डिकवीर राई पुरस्कृत भएका हुन् ।

    प्रतिष्ठानले दिक्तेलमा आयोजना गरेको स्व. शिक्षक राईको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा कार्यरत शिक्षक राईलाई नगद ५५ हजार ५५५ राशिको पुरस्कार प्रदान गरेको हो ।

    यस्तै, कार्यक्रममा ‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८०’बाट पूर्व शिक्षक नेताहरु केशवराज कार्की, जयप्रसाद आचार्य र देवी रिजाल सम्मानित भएका छन् । जिल्लाका विभिन्न विद्यालयमा कुसलतापूर्वक शिक्षण सेवा गर्नुका साथै शिक्षकहरुको हक तथा अधिकारका निमित्त सङ्घ/सङ्गठनको नेतृत्वसमेत गर्नुभएका पूर्व शिक्षकत्रयलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ ।

    ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान–२०८०’बाट सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमाका अध्यक्ष मीनराज राई सम्मानित भएका छन् भने हरेक वर्ष प्रदान गर्नेगरी स्थापना गरिएको ‘शुभशेर राई उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८०’बाट चिसापानी नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर राउत सम्मानित भएका छन् ।

    यस्तै, ‘शुभशेर राई दीर्घ शिक्षण सेवा सम्मान–२०८०’बाट शान्ति निकेतन मिनाकर्ण माध्यमिक विद्यालय छोरम्बुका शिक्षक नानीबाबु बस्नेत सम्मानित भएका छन् । दीर्घ शिक्षण सेवाबाट सम्मानित शिक्षक बस्नेतले वि.सं.२०३९ चैत–११ गतेदेखि हालसम्म शिक्षण सेवा गरिरहेको आयोजकले जनाएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गरेका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले स्थापना गरेको ११ लाख ११ हजार १११ राशिको अक्षयकोषको स्थापना गरेका छन् ।

    पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य पाँचकर्ण राई ‘पिके’ले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए। श्रद्धाञ्जलिसभा समेत आयोजना गरिएको कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, विभिन्न शिक्षक सङ्घ÷सङ्गठनका प्रमुख तथा प्रतिनिधि, स्व. शिक्षक राईका आफन्त लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा स्व. शिक्षक राईको परिवारका सदस्यले आफ्नो वार्षिक कमाइको ० दशमलव ५ प्रतिशत रकम बापत जम्मा भएको ७८ हजार प्रतिष्ठानलाई हस्तान्तरण गरेका छन् ।

    स्व. शिक्षक राईको परिवारका १९ जना सदस्यहरुले गत वर्ष दिक्तेलमा आयोजित कार्यक्रममा उपस्थित भएर आफ्नो कमाइको ० दशमलव ५ प्रतिशत रकम प्रतिष्ठानमा जम्मा गर्ने स्वघोषणा गरेका थिए । प्रतिष्ठानका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङले संस्थागत रुपमा ५० हजार सहयोग गरेको छ ।

    स्व. शिक्षक राईको जेठा छोरा देवबिक्रम अध्यक्ष रहेको ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ गत २०७९ साउन–३० गते जिल्ला प्रशासन कार्यालय खोटाङमा दर्ता गरिएको थियो । वि.स. २००७ साद भदौ–२५ गते जन्मनुभएका स्व. शिक्षक राईको वि.स. २०७८ साल भदौ–५ गते बुइपास्थित आफ्नै घरमा निधन भएको थियो ।

    नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङका पूर्व अध्यक्षसमेत रहेका स्व.शिक्षक राईले खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीस्थित विणा माविबाट शिक्षण सेवा शुरु गरेर जिल्लाका विभिन्न विद्यालयमा सेवा गर्नुभएको जनाइएको छ ।

    प्रकाशित मिति :भाद्र ५, २०८० मंगलवार - १९:५१:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको