खोटाङ । आर्थिक वर्ष २०७९/२०८० को लेखापरीक्षण गर्न महालेखा परीक्षकको टोली खोटाङ आईपुगेको छ । संघ, प्रदेश र स्थानीय तह अन्तर्गतका कार्यालयमा भएको आयव्यायको लेखापरीक्षण गर्न दुई टोली खोटाङ आईपुगेका हुन् ।
महालेखापरीक्षक कार्यालयका निर्देशकद्धय कल्पना अर्याल (पोखरेल) र यज्ञ प्रसाद वस्तीको टोली शनिबार राती दिक्तेल आएर आइततबार जिल्लाका कार्यालय प्रमुख र लेखा अधिकृतसँग छलफल गरेका छन् । निर्देशक अर्याल र वस्तीसँग २/२ जना अधिकृत र १/१ जना सुब्बा छन् ।
अर्यालको टोलीले आज (सोमबार) देखि ऐसेलुखर्क गाउँपालिकाको लेखापरीक्षण सुरु गरेको छ । न्युनतम तीन दिनमा एक स्थानीय तहको लेखापरीक्षण सकिने जनाइएको छ ।
अर्यालको टोलीले ऐसेलुखर्कसहित रावाबेशी गाउँपालिका, केपिलासगढी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाको लेखापरीक्षण गर्नेछन् भने निर्देशक वस्तीको टोलीले दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लेखापरीक्षण गर्नेछन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट लेखापरीक्षण सुरु गरिने वस्तीले बताए । खासगरी स्थानीय तह, धेरै खर्च भएको कार्यालय, बेरुजु धेरै आएका कार्यालयमा लेखापरीक्षण गरिने छ । साना कार्यालयहरुमा भने आलेपको रिपोर्ट अनुसार हेर्नुपर्ने भए हेर्न नत्र नहेरिने महालेखा परीक्षक कार्यालयका निर्देशक अर्यालको भनाई छ ।