खोटाङ । पूर्व विद्यार्थी मञ्चले खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई खेलकुद सामग्री प्रदान गरेको छ । दिक्तेल बहुमुखी क्याम्पस पूर्व विद्यार्थी मञ्चले क्याम्पसको प्राज्ञिक तथा परामर्श समिति अन्तरगत अतिरिक्त क्रियाकलाप उपसमितिलाई सोमवार खेल सामग्री हस्तान्तरण गरेको हो ।
पूर्व विद्यार्थी मञ्चले पूर्व विद्यार्थीबाट सहयोग उठाएर दुई थान भलिबल, दुई थान फुटबल, एक थान भलिबल नेट, एक थान पम्प सेट, चार थान राकेट, एक थान व्याडमिन्टन नेट, एक थान सटल सेट, पाँच थान चेस बोर्ड, चार थान टेबल टेनिस व्याट र छ थान पिङपङ प्रदान गरेको छ ।
सोमबार क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका उपाध्यक्षद्धय राजेन्द्र राई र दानबहादुर राई, सचिव युवराज रिजाल र सदस्य इरन राईले क्याम्पस प्रमुख हिराकुमार राई लगायत क्याम्पस परिवारलाई खेल सामग्री हस्तान्तरण गरेका थिए । पूर्व विद्यार्थी मञ्चले गत पुसमा क्याम्पसलाई २४ हजार ६४१ रुपैयाँ बराबरको पुस्तक प्रदान गरेको थियो ।
दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गरेर विभिन्न क्षेत्रको जिम्मेवारीमा रहेका पूर्व विद्यार्थीलाई क्याम्पससँग जोडेर बनाइएको मञ्चले क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा हातेमालो गर्ने वातावरण बनाउने जनाएको छ ।
२०३७ सालमा त्रिविविबाट सम्वन्धन प्राप्त गरेको दिक्तेल बहुमुखी क्याम्पस बिश्व विद्यालय अनुदान आयोगले (क्यूएए) प्राप्त गर्ने चरणमा पुगेको छ । क्यूएएका लागि विश्व विद्यालय अनुदान आयोग इजुकेसनल क्वालिटी एसुरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यु टिमले गत जेठ अन्तिम साता फाइनल एसेसमेन्ट गरिसकेको छ ।
क्यूएए प्राप्तीका लागि २०७१ सालमा प्रकृया अघि बढाएको क्याम्पसले २०७६ सालमा स्वअध्ययन प्रतिबेदन बुझाएको थियो । तर कोभिड १९ का कारण २०७८ मा मात्रै पियर रिभ्यू टिम भिजिटमा आएको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी दिक्तेल क्याम्पसमा २०७० सालदेखि स्नातकोत्तर तहको कक्षा सुरु गरिएको हो । सो क्याम्पसमा खोटाङ बाहेक ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी समेत अध्ययन गर्न आउने गरेका छन् ।