बिहिवार, कार्तिक १३ गते २०८३

गाउँपालिकाद्धारा राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान

गाउँपालिकाद्धारा राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान

रोदिक खबर

१५, भाद्र २०८०
  • 10.6K
    SHARES
  • गाउँपालिकाद्धारा राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो प्रदान

    खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखी पेशा अपनाउँदै आएका गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो प्रदान गरेको छ । पूर्खौली पेशा राडीपाखी व्यवसाय गर्दैआएका गुरुङ महिलाको व्यवसायिक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले पाँच लाख बराबरको ५० थान चर्खा र १७० थान कोरेसो प्रदान गरेको हो ।

    भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई चर्खा र कोरेसो प्रदान गरिएको रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङले बताईन् ।

    रावाबेँसी गाउँपालिका-१ कुभिण्डे गोपिनीका राडीपाखी व्यवसायी महिलालाई पाँच थान चर्खा र १२ थान कोरेसो, रावाबेँसी गाउँपालिका-४ डुम्रेधारापानीका महिलालाई छ थान चर्खा र १२ थान कोरेसो, रावाबेँसी गाउँपालिका-५ दुवेकोलका महिलालाई नौ थान चर्खा र २६ थान कोरेसो र रावाबेँसी गाउँपालिका ६ हौंचुरका राडीपाखी व्यवसायी महिलालाई ३० थान चर्खा र ४३ थान कोरेसो प्रदान गरिएको छ ।

    गुरुङ समुदायको पूर्खौली  पेशाको संरक्षण एबं व्यवसायीक विकासमा सघाउ पुर्याउनका लागि गाउँपालिकाले चर्खा र उन कोर्ने कोरेसो प्रदान गरेको हो । गाउँपालिकामा राडीपाखीको काम गरिरहेका १७० महिला व्यवसायीलाई एकरएक थान कोरेसो उपलव्ध गराइएको छ । चर्खा भने दुई तीन जनाले सामुहिक रुपमा चलाउन पाउनेगरी वितरण गरिएको उपाध्यक्ष गुरुङले बताईन् ।

    राडीपाखीको काम गरिरहेका राई, भुजेल, मगर लगायतका समुदायका महिलालाई पनि चर्खा र कोरेसो प्रदान गरिएको छ । बुधबार हौंचुरको पोखरी र चाँपखर्क तथा कुभिण्डे गोपिनीका गुरुङ समुदायका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको थियो । शुक्रबार डुम्रेधारापानी र दुबेकोलका राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    विशेषगरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने काम गर्दैआएका छन् । कतिपय गुरुङ परिवारले राडीपाखी बुनेर आएको आम्दानीबाटै घरको गर्जो टार्ने गरेका छन् । राडीपाखी व्यवसाय गुरुङ समुदायको नगद हात लाग्ने मूख्य पेशा हो । जिल्लाको हौंचुर पोखरी र चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुईपा, साब्रु, बाक्सिला लगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायले पूर्खादेखि चल्दैआएको पेशा अपनाउँदै आएका छन् ।

    प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - २१:३५:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको