खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाइ गरेको छ । नगरपालिकामा वर्ष भरी सञ्चालन भएका योजना तथा कार्यक्रम र आय–व्ययको आइतबार सार्वजनिक सुनुवाइ गरेको हो ।
नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु ७३ करोड ९० लाख २३ हजार १ सय ८५ अनुमानित बजेट ल्याएको थियो । जसमा कुल बजेटको ८६.६ प्रतिशत खर्च भएको छ ।
चालुतर्फ ९०.५४ प्रतिशत खर्च गरेको नगरपालिकाले पुँजीगततर्फ ७८.२८ प्रतिशत खर्च भएको वार्षिक सार्वजनिक सुनुवाइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०७९/८० मा रु १ करोड ११ लाख १५ हजार ७ सय २१ राजश्व संकलन गरेको जनाएको छ । नगरपालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदनका आधारमा एवं नगरपालिकाको सेवाको विषयमा सवालजवाफ भएको थियो ।
आइतबार नगरपालिकामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको उद्घाटन संघीय सांसद रामकुमार राईले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि राईले हरेक निकाय पारदर्शी हुनु पर्ने भन्दै हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नु महत्वपुर्ण रहेको बताए ।
अहिले देशमा गल्ती गर्नेहरुले सजाय पाइरहको भन्दै सांसद राईले सुशासन कायमहुँदा कसैले धर नपाउने बताए । ठुलो संघर्षबाट स्थानीय तह निर्माण भएकाले जनप्रतिनिधि सबैको साझा हुनु पर्ने उनको भनाइ थियो ।
यस्तै हलेसी तुवाचुङ नगरपालिकाले जस्तै जिल्लाका अन्य स्थानीय तहले पनि सार्वजनिक सुनुवाइ गर्नु पर्ने सांसद राईको माग थियो ।
सार्वजनिक सुनुवाइमा उपस्थित नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला निकायहरुले नगरपालिकाको बजेट तथा सेवा प्रवाहमा प्रश्न गरेका गर्नुका साथै सुझाव दिएका थिए । प्रश्नसँगसगै सम्बन्धित शाखा एवं जनप्रतिनिधिले त्यसको जवाफ तत्काल दिएका थिए ।
सुशासन तथा पारदर्शिता, नगरपालिकाको कामको विषयमा गुनोसो तथा सुझावका लागि सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको उपप्रमुख रमेश कुमार राउतले बताए ।
हलेसी तुवाचुङले गत फागुनमा अर्धवार्षिक सार्वजनिक सुनुवाइसमेत गरेको थियो । आफ्नो कामको नगरपालिका आफैले सार्वजनिक सुनुवाइ गर्नु भन्दा अन्य निकायलाई गर्न लगाउदा अझै विश्वसनीय हुने भएकाले सेवा प्रदायक संस्थालाई सार्वजनिक सुनुवाइ गर्न दिएको नगरप्रमुख विमला राईले बताईन ।
सार्वजनिक सुनुवाइ सञ्चालन तथा सहजिकरणका लागि नगरपालिकाले सूचना नै निकालेको थियो । जस अन्तरगत भिजन नेपाल ओखलढुंगाले सार्वजनिक सुनुवाइ गरेको हो ।
सार्वजनिक सुनुवाइका लागि नगरपालिकाका प्रत्येक वडामा पुगेर नागरिकका गुनासा तथा सुझाव संकलन गरिएको भिजन नेपालका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले बताए ।
नागरिकका उक्त गुनासो तथा प्रश्नको जवाफ नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, शाखा प्रमुख लगायतले दिएका थिए ।
अर्धवार्षिक एवं वर्षमा एक पटक स्थानीय तहले सार्वजनिक सुनुवाइ गर्नै पर्ने कानुनी व्यवस्था छ । तर, जिल्लाका अधिकांश स्थानीय तहले यसलाई चासो दिएको देखिदैन् ।
यो वर्ष हलेसी तुवाचुङसँगै जन्तेढुंगा, ऐसेलुखर्क र खोटेहाङ गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको जनाएको छ । अन्य ६ स्थानीय तहले भने सार्वजनिक सुनुवाइ गरेनन् ।