खोटाङ । सोलुखुम्बुमा दुधकोसीले बेलिब्रिज बगाएपछि तुईन जडान गरेर गाडी तार्न सुरु गरिएको छ । गत भदौ ८ गते आएको बाढीले थुलुङ दुधकोसी गाउँपालिका-८ र सोताङ गाउँपालिका-१ को बीचमा पर्ने दुधकोसीको दिप्लीघाटमा राखिएको बेलिब्रिज बगाएपछि अस्थायी तुईन जडान गरेर गाडी वारपार गर्ने/गराउने व्यवस्था मिलाइएको हो ।
बेलिब्रिज बगाएपछि सोताङ गाउँपालिकामा फसेका जीपलाई अस्थायी तुईन जडान गरेर तार्न सुरु गरिएको थुलुङ दुधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले बताए । गाउँपालिकाका अध्यक्ष राईका अनुसार बेलिब्रिजमा क्षती पुग्दा थुलुङ दुधकोसी गाउँपालिकाका व्यवसायीका करिब ४० वटा जीप सोताङ गाउँपालिकामा अड्किएका छन् ।
सोताङ गाउँपालिमा र केही महाकुलुङ गाउँपालिकामा अड्किएका गाडीलाई यातायात व्यवसायी एवं चालकको अनुरोधमा थुलुङ दुधकोसी गाउँपालिकाकाले लठ्ठा र प्राविधिक ल्याएर दिप्लीघाटमा अस्थायी तुईन जडान गरेको हो । आइतबार तुइनबाट एउटा जीप झुण्ड्याएर तारिएको छ ।
थुलुङ दुधकोसी गाउँपालिकाबासी दिप्लीघाट तरेर तराई तथा शहर जाने आउने गर्छन् । बेलिब्रिज बगेपछि नदी वारपार गर्न कठिन भइरहेको छ । दुधकोसीको दिप्लीघाटमा पक्की पुल बनाउनका लागि प्रधानमन्त्री पुष्पकलम दाहालले मन्त्रालयलाई निर्देशन दिइसकेको गाउँपालिका अध्यक्ष राईले बताए ।