साकेला । खोटाङको साकेला गाउँपालिकाले पालिकाभित्रका टोल टोलमा पुगेर सेवाप्रवाह दिन शुरु गरेको छ । नागरिकहरुको समस्यालाई वस्तीस्तरबाटै समाधान गर्ने उद्देश्यका साथ साकेला गाउँपालिकाको टोल-टोलमा विभिन्न सेवा सहितको शिविर आयोजना गरिएको जनाएको छ ।
शुक्रबार गाउँपालिकाको वडा नम्बर -१ बाँझेच्यानडाँडाको सेखुवा डाँडागाउँमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, एकल महिला, विधवा, अपाङ्गता भएका र लक्षित बालबालिकाको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण, जग्गाको तिरो (मालपोत कर) लगायतका शिविरमार्फत सेवा प्रवाह गरिएको वडाध्यक्ष हेमन राईले बताए। सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर शिविर सञ्चालन गरिएको उनको भनाई छ ।
हामी जनताको सेवक हौं, नागरिकको सेवाको लागि आवश्यकता अनुसार गाउँगाउँ र टोलटोलमा हाम्रो सेवा पुर्याउने कोशिष गरिरहेका छौं-साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भने- जनताको आवश्यकता अनुसारका अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल-टोलबाटै प्रदान हुनेछ ।
हामी डिजिटल पालिका निर्माणमा पनि लागिरहेका छौ, डिजिटल पालिका निर्माण भईसकेपछि जनताले घरैमा बसीबसी सेवा लिन सक्नुहुनेछ । साकेला गाउँपालिकाले निर्माण सुरु गरेको आवधिक योजनामा डिजिटल पालिका निर्माण योजनालाई प्राथमिकता दिएर काम सुरु गरेको छ ।
डिजिटल पालिका निर्माण भईसकेपश्चात नागरिकहरुले अनलाईनबाटै आफूलाई आवश्यक पर्ने सम्पूर्ण सेवा घरैमा बसिबसी लिन सक्नेछन् । वडा कार्यालय तथा पालिकाबाट प्राप्त गर्ने सेवा अन्तर्गत विभिन्न सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व र कर प्रणाली लगायतका सेवा डिजिटल पालिका निर्माण भईसकेपश्चात प्राप्त गर्ने गाउँपालिका प्रमुख राईले बताए ।
उक्त शिविर भोली (शनिबार) १ नम्बर वडा कार्यालय बाँझे र आईतबार सोही वडाको डाँडागाउँस्थित पिपलडाँडा आधारभूत विद्यालय र चण्डेश्वरी आधारभूत विद्यालयमा सञ्चालन गरिने बताईएको छ । आज सञ्चालन गरिएको शिविरबाट ६४ जना जेष्ठ नागरिक, एकल महिला, विधवा, अपाङ्गता भएका र लक्षित बालबालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ ।
त्यस्तै ९२ जना नागरिकले शिविरस्थलबाटै जग्गाको तिरो मालपोत कर बुझाएका छन् भने १५० जना नागरिकको स्वास्थ्य परीक्षण गरिनुका साथै औषधी वितरण गरिएको छ । शिविरमा १ नम्बर वडाका वडा अध्यक्ष राई, वडा सदस्यहरु, वडा कार्यालयका कर्मचारीहरु, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई लगायतको उपस्थिती रहेको वडा सचिव नमी राईले जानकारी दिइन् ।