खोटाङ । सडक स्तरोन्नतीको काम अलपत्र पार्ने ठेकेदारको उपकरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ताला लगाइदिएको छ । दिक्तेल–खोटाङबजार सडक अन्तरगत अस्पताल चोक–लफ्याङको दुबेचिवा (३किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुछु/बगाले/बिएनटी जेभीको दुई वटा टिपर, एउटा स्काभेटर र एउटा रोलर नियन्त्रणमा लिएर नगरपालिकाले ताला लगाइदिएको हो ।
सडक स्तरोन्नतीको काम अलपत्र पारेको ठेकेदारले निर्माणस्थलमा रहेका मेसिन अन्यत्र लैजान थालेपछि नगरपालिकाका प्रवक्ता दिनेश घिमिरे नेतृत्वको टोलीले मंगलबार लफ्याङको राजेम्पाडाँडामा राखिएको उपकरणलाई फलामे साङ्लोले बाँधेर ताल्चा लगाइदिएको हो ।
भदौ ३१ गते एउटा ग्रेडर भोजपुरतर्फ लैजाँदै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरेबाट नियन्त्रणमा लिइएपछि अन्य उपकरण पनि अन्यत्र लैजाने अवस्था देखिएकाले ताला हालेर रोकेको नगर प्रवक्ता घिमिरेले बताए ।
सडक स्तरोन्नतीको काम पुःन सुचारु नभइञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि ठेकेदारको मेसिनरी सामानहरुमा तालाबन्दी गरिएको नगरपालिकाले जनाएको छ । चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नतीको काम अलपत्र छाडेर उपकरण लिएर हिँड्न लागेको अवस्थामा २०७९ कात्तिक २० गते पनि नगरपालिकाले एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको थियो । केही समयपछि फर्किएर अवरुद्ध कामलाई सुचारु गराएको निर्माण व्यवसायीले गत असारदेखि सडक स्तरोन्नतीको काम अलपत्र पारेका छन् ।
भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नती गर्नेगरी ढुकुछु÷बगाले÷बिएनटीले ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।
नगरपालिकाका अनुसार थप भएको म्याद १९ दिन बाँकी छ । सडक स्तरोन्नतीको काम अलपत्र हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिका आवतजावत गर्ने नागरिकलाई सास्ती भइरहेको छ । अस्पताल जान प्रयोग हुने सो सडकको दुरावस्थाका कारण कतिपय बिरामीलाई लाखौं तिरेर हेलीकोप्टर चार्टर गर्नुपर्ने वाध्यता छ ।
ढुकुछु/बगाले/बिएनटीले श्रम गरेका कामदारलाई पारिश्रमिक नदिएर रोजीरोटीमाथि खेलवाड गरिरहेको गुनासो आएको छ । ठेकेदारबाट पारिश्रमिक दिलाइदिनकालागि कामदारले असोज १ गते नगरपालिका समक्ष संयुक्त निबेदन दिएका छन् । यस्तै, ठेकेदारले खाना तथा खाद्यान्नको लाखौं रकम नदिएको होटल तथा पसल सञ्चालकले गुनासो गरेका प्रवक्ता घिमिरेले बताए ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र छाडेर भाग्ने ठेकेदारको ग्रेडर मेसिन नियन्त्रणमा लिएको छ । दिक्तेल खोटाङबजार सडक अन्तरगत अस्पताल चोक लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु/बगाले/बिएनटी जेभीको ग्रेडर नियन्त्रणमा लिएको हो ।
सडक स्तरोन्नतीको काम अलपत्र पारेर छाडेको केही समयपछि निर्माणस्थलबाट उठाएर भोजपुरतर्फ लैजाँदै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरे पुर्याइएको ग्रेडर नियन्त्रणमा लिइएको नगरका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
निर्माण कम्पनीका प्रतिनिधिले मेसिन कन्डिसनमा भए/नभएको जाँच गर्न आएको भन्दै ग्रेडर स्टार्ट गरेर हिँडाएका थिए । ठेकेदार सम्पर्क विहिन बनेको महिनौंपछि मेसिन उठाएर हिँडाएपछि स्थानीयले नगरपालिकालाई खबर गरेका थिए । प्रहरीको टोलीसँग पछ्याउँदै जाँदा नभेटेपछि बाटोमा पर्ने प्रहरीचौकी दोर्पाचिउरीडाँडाका प्रहरीलाई परिचालन गरेर ग्रेडर नियन्त्रणमा लिएको नगरप्रमुख भट्टराईले बताए ।
नगरपालिकाले बाटैमा रोकेपछि ठेकेदारको प्रतिनिधिले ग्रेडरको पांग्राको हावा खुस्काएर हिँडेको पाइएको छ । रात परिसकेको थियो । ग्रेडर नियन्त्रणमा लिएर फर्कियौं, नगरप्रमुख भट्टराईले, दिक्तेल फर्काउने भनेपछि हावा खोलेर हिँडेछन् । ग्रेडर मेसिन छुटाउनका लागि राजनैतिक दवाव आइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराईको भनाइछ ।