• ट्रेण्डिङ:

अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने

अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने

रोदिक खबर

७, आश्विन २०८०
  • 15.6K
    SHARES
  • अन्तर्राष्ट्रिय चित्रकला कार्यशालामा १४ देशका ४० जना चित्रकार सहभागी हुने

    खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सदरमुकाम दिक्तेल बजारमा यही असोज–१७ गतेदेखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ सञ्चालन हुँदैछ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा जिल्लाका धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन तथा विकास गर्ने उद्धेश्यले पाँच दिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम राखिएको हो ।

    नगरपालिकाको विभिन्न ठाउँमा आयोजना हुने चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रममा नेपाल, अस्ट्रेलिया, अमेरिका, जापान, लातभिया, लिथुअनिया, दक्षिण कोरिया, युक्रेन, भियतनाम, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत लगायत विभिन्न १४ देशका ख्यातिप्राप्त चित्रकारहरुको सहभागिता हुने नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    “कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० जनाभन्दा बढी कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।

    जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ”, नगरप्रमुख भट्टराईले भने–“प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो ।

    लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने दाबी गरिएको छ ।”

    नगरपालिकाले विनियोजन गरेको १८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ ।

    चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, विभिन्न जातजातिको साँस्कृतिक झाँकी, स्थानीय कलाकारहरुको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

    चित्रकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर उच्च पदस्थ व्यक्तिमार्फत उद्घाटन गराएर प्रदर्शनीको आयोजना गर्ने तयारी गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

    लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीको तयारीका बारेमा नगरपालिकाले विभिन्न पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उनीहरुबाट राय तथा सुझाव सङ्कलन गरिरहेको छ ।

    चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले आयोजना गर्ने चित्रकला कार्यशालामा जिल्लाका छात्र/छात्रालाई पनि सहभागी गराइने जनाइएको छ ।

    गत चैत–१९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवम् प्रदर्शनी गर्ने निर्णय पारित गरेको थियो । लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवानगरपालिकाका १५ वटै वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्व सहितका तस्वीरहरु प्राथमिकीकरण गरिसकिएको छ ।

    यस्तै, जिल्लाका अन्य नौँवटा स्थानीय तहबाट प्राथमिकीकरण गरिएका धार्मिक, साँस्कृतिक तथा ऐतिहासिकस्थलका तस्वीरहरु सङ्कलन भइसकेको नगरपालिकाले जनाएको छ । दिक्तेलमा आयोजना गरिने ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रमलाई निक्कै महत्वका साथ हेरिएको छ ।

    चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । मध्यपहाडी लोकमार्ग हुँदै नगरपालिका प्रवेश गर्ने प्रमुख प्रदेशद्धार नुनथलाबाट शुरु हुने कार्यक्रमलाई सफल बनाउन नगरपालिकाका सबै जनप्रतिनिधि तथा कर्मचारीलाई समेटेर विभिन्न उपसमितिहरु गठन गर्नुका साथै कार्यतालिकासहित कार्यविभाजन समेत गरिएको जनाइएको छ ।

    नगरप्रमुख भट्टराईको संयोजकत्वमा १४५ सदस्यीय मूल समारोह समिति, नगर उपप्रमुख विशन राईको संयोजकत्वमा सात सदस्यीय स्वागत व्यवस्थापन समिति, १२ नं. वडाध्यक्ष एवम् सामाजिक विकास समिति संयोजक दानबहादुर राईको संयोजकत्वमा पाँच सदस्यीय कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको जनाइएको छ ।

    यस्तै, वडा नं. १ का वडाध्यक्ष नवराज राईको संयोजकत्वमा पाँच सदस्यीय झाँकी व्यवस्थापन समिति, वडा नं. ५ का वडाध्यक्ष एवम् नगर प्रवक्ता दिनेश घिमिरेको संयोकत्वमा ३५ सदस्यीय प्रचारप्रसार समिति लगायत विभिन्न उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।

    नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको समेत उपस्थिति रहने कार्यक्रममा जिल्लास्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गरिने जनाइएको छ ।

    जिल्लाका पर्यटकीयस्थलहरु टेम्के, रुपाकोट, मझुवागढी, भुलभुले लगायतका ठाउँहरुको अवलोकन तथा त्यस ठाउँहरुको समेत चित्र उतार्ने कार्यक्रम राखिएको नगरपालिकाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ७, २०८० आइतवार - २१:४८:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको