खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीले अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द गरेका छन् । संघीय निजामती विधेयकमा आफ्ना मुद्दाहरु समेट्न माग गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीले स्थानीय तह कर्मचारी संघर्ष समितिको अगुवाईमा शुक्रबार गाउँपालिका अध्यक्ष उदिमबहादुर राई र प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई ज्ञापन–पत्र बुझाउँदै गाउँपालिकाको अत्यावश्यक वाहेकका सेवा अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।
स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक योगेश श्रेष्ठले बुझाएको ज्ञापन–पत्रमा केन्द्रिय संघर्ष समितिले तय गरेको तालिका अनुसार शुक्रबारदेखि गाउँपालिका र सो अन्तर्गतका कार्यालयमा अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने, अनिश्चितकालिन पेन डाउन गर्ने निर्णय गरेको उल्लेख छ ।
नेपाल सरकार मन्त्री परिषदको भदौ १ गते बसेको बैठकले संघीय संसदमा पेश गर्ने निर्णय गरेको संघीय निजामति सेवा विधेयकमा स्थानीय सेवाबाट प्रवेश गरेकाहरुलाई वृत्ति विकाससहित संघीय निजामती सेवाको विशिष्ट श्रेणीसम्म आउने बाटो खुला राख्न, तीन तहकै कर्मचारीलाई समान वृत्ति विकासको अवसर दिन, स्थायी र करारका कर्मचारीको उचित व्यवस्थापन गर्न, सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउन र सरुवाको प्रणालीलाई मापदण्डभित्र राख्न माग गर्दै कर्मचारीले ‘प्रशासनिक संघीयताको पूर्ण कार्यान्वयनको आधार, तिन तहकै कर्मचारीहरुको समान अधिकार’ भन्ने मूल नाराका देशभर विरोध प्रदर्शन गरिरहेका छन् ।
