काठमाडौं उपत्यकामा एकै दिन ६ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ९६ जनामा कोरोना पुष्टि भएको हो ।
उपत्यका संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै उच्च हो । उपत्यकामा निषेधाज्ञा खुकुल्लो बनाएसँगै संक्रमितको तथ्यांक पनि वृद्धि भएको छ । ४ भदौदेखि लागू भएको निषेधाज्ञालाई उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले २४ भदौबाट खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सवारी संचालन गर्न दिने र बारअनुसार व्यापार व्यवसाय खोल्न दिने भएका थिए ।
आज सबैभन्दा धेरै काठमाडौंमा संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । आज काठमाडौंमा ६ सय २० जना संक्रमित थपिएका छन् । यो काठमाडौंमा संक्रमण पुष्टि भएको अहिलेसम्मकै उच्च संख्या हो । बिहीबार मात्रै काठमाडौंमा ४ सय ९५ संक्रमित थपिएका थिए ।
आज ललितपुर र भक्तपुरमा ३८र३८ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । आज काठमाडौंबाहेक सबैभन्दा धेरै रूपन्देहीमा १ सय २ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टाको अवधिमा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा एक महिला र चार पुरुष गरी पाँच जनाको कोरोना संक्रमणबाट निधन भएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट काठमाडौंका ७० वर्षीय नवलपरासीका ५५, धनुषाका ४५, महोत्तरीका ६५ वर्षीय पुरुष र मोरङकी ४० वर्षीया महिलाको कोरोनाबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।आज देशभर १७० जना आइसीयूमा र २५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांक छ ।
आजसम्म ८ लाख २१ हजार १ सय ८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५१ हजार ९ सय १९ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ३६ हजार ६ सय ७२ संक्रमित निको भएका छन् भने १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।